२५ बैशाख, २०८१ मंगलबार

08:33:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्धनको मूल्यवृद्धिका कारण निर्माण उद्योग नै ठप्प हुन्छः महासंघ

Nepal Business

७ असार, २०७९

इन्धनको मूल्यवृद्धिका कारण निर्माण उद्योग नै ठप्प हुन्छः महासंघ

काठमाण्डौं । सरकारले बारम्बार इन्धनको मूल्यवृद्धि गरिरहेको छ । सरकारले यसको कारण अन्तराष्ट्रिय बजारमा भइरहेको घटना क्रमलाई देखाइरहेको छ । तर इनधनमा भइरहेको मूल्यवृद्धिले सर्वसाधारदेखि हरेक क्षेत्र मारमा परेको छ । 

नेपाल निर्माण व्यवसायी महासंघले इनधनमा गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको बताएको छ।

सरकारले पछिल्लो पटक पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेका निर्माण उद्योग थप आक्रान्त भएको महासंघले विज्ञप्तीमार्फत जानकारी दिएको छ । 

पछिल्ला केहि महिनाको तथ्यांक अनुसार इन्धनमा शतप्रतिश मूल्यवृद्धि भएका कारण मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अतिजरुरीका निर्माण परियोजना पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघले जनाएको छ । 

महासंघका अनुसार अप्रत्याशित रूपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर जमिन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायी, तिनका परिवार र तिनमा आश्रित लाखौं श्रमिकको विचल्ली हुने महासंघले जनाएको छ । 

महासंघका अनुसार यसअघिकै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा महासंघ र सरोकारवाला निकायबीच वार्ता भइरहेको समयमा हठात् भएको अप्रत्यशित एवं अत्यधिक मूल्यवृद्धिले महासंघ स्तब्ध भएको छ । 

पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरो रूपमा निर्माण व्यवसायीसहित तमाम उपभोक्ताको ढाड सेकिने गरी भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा अत्यन्त नकरात्मक असर पर्ने महासंघको ठहर छ ।

मुलुकमा व्याप्त अराजकताले निर्माण गतिविधि प्रभावित भएको र राज्य संयन्त्रहरूमा भ्रष्टाचार व्याप्त रहेकाले मुलुकले सुशासन महसुस गर्न नपाएको महासंघले जनाएको छ ।

यसैबीच बिमा निर्देशिका—२०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भई बीमा कम्पनीलाई पोस्ने काम सरकारले गरेको महासंघले जनाएको छ।

उक्त निर्देशिकामा टेरिफलाई ननटेरिफ नगरेको खण्डमा महासंघ, बीमा समितिविरुद्ध पुनः कडा आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।