२० माघ, २०८१ आइतबार

12:42:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एउटै सेयर २ जनालाई बिक्री गरेर ३ करोड ५० लाख ठगी

Nepal Business

४ असार, २०७९

एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

एउटै सेयर २ जनालाई बिक्री गरेर ३ करोड ५० लाख ठगी

काठमाण्डौं । एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई विक्रि गरेर साढे ३ करोड ठगी गर्नेलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षीय केशवप्रसाद अधिकारी रहेका छन् । 

उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

पूर्व सञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका सेयरधनी नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिई साढे तीन करोड ठगी गरेका हुन् । आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले बताएको छ ।

व्यवसायी तामाङबाट साढे तीन करोड लिएर अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको खुलेको प्रहरीले बताएको छ । सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मन्जुरीनामा दिइसकेका अवस्थामा पटक–पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।

सो कम्पनीको सेयर किनेका पाण्डेले भने कन्सल्टेन्सीको उक्त सेयर यसअघि बिक्री भइसकेकोबारे आफूलाई जानकारी नभएको दाबी गर्नु भएको  छ । हाल अधिकारी प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यद्यपि उनी बिरामी परेको भन्दै वीर अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रशासनबाट दुई दिन म्याद समेत थपिएको छ ।