१९ माघ, २०८१ शनिबार
11:42:56 PM
३ असार, २०७९
सरकारको सो अवधिमा ४ खर्ब ६६ अर्ब १९ करोड ९१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य
काठमाण्डौं । सरकारले आफ्नो लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा सरकारले ४ खर्ब १० अर्ब ४५ करोड ३६ लाख ३५ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।
तर, सरकारको सो अवधिमा ४ खर्ब ६६ अर्ब १९ करोड ९१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।
सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयकरबाट २ खर्ब २ अर्ब १ करोड ८ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा १ खर्ब ८२ अर्ब २४ करोड ४३ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्याको ९० प्रतिशत मात्र राजस्व संकलन भएको हो ।
विभागले घर बहाल कर शीर्षकबाट लक्ष्यको ६५.७८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले घरबहाल करबाट ३ अर्ब ६९ करोड ३३ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब ४२ करोड ९३ लाख २१ हजार रुपैयाँ संकलन गरेको विभागले जनाएको छ ।
यस्तै ब्याजबाट यस अवधिमा ३३ अर्ब ३१ करोड ३९ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा २३ अर्ब ३७ करोड १७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन लक्ष्य अनुसार ७०.१६ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।
सरकारले भ्याटबाट लक्ष्यको ८३.०४ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले भ्याटबाट १ खर्ब २१ अर्ब ३१ करोड ३९ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ७४ करोड ८ लाख एक हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।
विभागका अनुसार अन्तशुल्क शीर्षकबाट ११ महनिामा सरकारले १ खर्ब १ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९४ अर्ब ८० करोड २८ लाख ७६ हजार रुपैयाँ संकलन गरेको छ । लक्ष्यअनुसार ९३.२६ प्रतिशत राजस्व संकलन गरेको हो ।
यसैगरी स्वास्थ्य सेवा शीर्षकमा लक्ष्य भन्दा झण्डै दोब्बर राजस्व संकलन भएको छ । विभागले यस अवधिमा स्वास्थ्य सेवा शीर्षकबाट ३ अर्ब २५ करोड ३२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ५ अर्ब ८१ करोड ४७ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा १७८.७३ प्रतिशत बढी राजस्व संकलन भएको हो ।
जेठ मसान्तसम्म शिक्षा शीर्षकबाट पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा ९५ करोड ४४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ४ करोड ९८ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्य अनुसार ११०.०० प्रतिशत राजस्व संकलन भएको विभागले जनाएको छ ।