२० माघ, २०८१ आइतबार

02:29:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च कति भयो ?

Nepal Business

२ असार, २०७९

११ महिनाको अवधिमा ३६.२ प्रतिशत पुँजीगत (विकास) खर्च गरेको

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च कति भयो ?

काठमाण्डौं । सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३६.२ प्रतिशत पुँजीगत (विकास) खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएकोमा मंगलबारसम्ममा एक खर्ब ३६ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ खर्च भएको हो । 

सरकारले हालसम्म गरेको विकास खर्चलाई हेर्दा बाँकी एक महिनाको अवधिमा ७३ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने वाध्यता रहेको छ । निर्माण व्यवसायीको निर्माण होलिडेको असर विकास खर्चमा परेको छ । खरिद नियमावली संशोधनको माग राख्दै निर्माण व्यवसायी आन्दोलनरत भएसँगै मुलुकमा विकास निर्माणका काम ठप्प भएका छन् ।

सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नगर्दा विकास खर्च गर्ने मन्त्रालयहरु निरहि बन्न बाध्य भएका छन् । अर्कोतर्फ राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजनाहरुको समेत निर्माण कार्य रोकिन पुगेको छ । जसको असर पुँजीगत खर्चमा परेको छ ।

ठूलो आकारमा खर्च गर्ने मन्त्रालयहरुमा भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, उर्जा, जलस्रोत तथा सिचाई, कृषि तथा पशुपंक्षी विकास, सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयहरु रहेका छन् ।

पूर्वाधार विकासमा ठूलो बजेट खर्च गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालसम्म ४१ प्रतिशत मात्र खर्च गरेको छ । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि एक खर्ब ५६ अर्ब २५ करोड १० लाख ४१ हजार रुैपयाँ बजेट विनियोजन गरेकोमा हालसम्म ६४ अर्ब छ करोड २९ लाख २६ हजार रुपैयाँ मात्र खर्च गरेको छ । सडक, पूल लगायतका पूर्वाधारहरुको निर्माण कार्य नहुदाँ मन्त्रालयको खर्चमा कमी आएको हो ।

यस्तै ११ महिनको अवधिमा सबैभन्दा धेरै चालु खर्च ७५.२९ प्रतिशत अर्थात् आठ खर्ब दुई अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ । चालु शीर्षक अर्थात् तलब, भत्ता (सेवा सुविधा), भाडालगातका एक वर्षभन्दा कम टिकाउ हुने सामाग्रीमा गरिने खर्चको रुपमा बुझिन्छ । यो सँगै प्रशासनिक क्षेत्रमा अर्थात् तलब भत्ता लगायतका सेवा सुविधा र कार्यालयलाई आवश्यक सामग्रीमा भने उत्साहजन खर्च गरेको देखिन्छ ।

चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

यसैगरी यस अवधिमा वित्तीय व्यवस्थापनतर्फ भने ४३.५४ प्रतिशत अर्थात् ८२ अर्ब ४८ करोड २३ लाख रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी ६२.५५ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ छुटाएकोमा मंगलबारसम्ममा १० खर्ब २१ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ ।