७ मंसिर, २०८१ शुक्रबार

11:46:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जैमिनीका किसान बंगुरपालनमा रमाउदै, कति हुन्छ कमाई ?

२१ पुस, २०७८

जैमिनीका किसान बंगुरपालनमा रमाउदै, कति हुन्छ कमाई ?


काठमाण्डौं
विदेश जाने सपना बुनिरहेका २९ वर्षिय मिलन राना अहिले बंगुरको हेरचारमा व्यस्त हुनुहुन्छ । उहाँको विदेश जाने लगभग पुरा भइसकेको थियो। तर रानाले नेपालमै आफ्नो भविष्य बनाउने सपनाका अगाडी विदेशको सपना लत्याउनुभयो ।

अहिले राना बंगुरपालनमा भविष्य खोज्दै हुनुहुन्छ । २१ लाख लगानीमा गत साउनबाट जैमिनी नगरपालिका–१ कुश्मीसेरामा रानाले बंगुरपालन सुरु गर्नुभएको हो। अहिले उहाँसँग फार्ममा ४२ बंगुर छन्। फार्ममा एक सय ७० बंगुर पाल्ने क्षमता छ । राना विस्तारै बंगुर थप्दै जाने योजना रहेको बताउनुहुन्छ। बङ्गुर  रानाले गत भदौयता बंगुर बेचेर करिब चार लाख कमाइ भित्राएको सुनाउनुभयो ।

उहाँका अनुसार बंगुरपालक किसानले धेरैजसो पाठापाठीबाट आम्दानी गर्छन् । रानाले भन्नुभयो, ‘मासुका लागि बेच्दा प्रतिकिलो तीन सय ७० रुपैयाँसम्म पर्छ । महिनादिन पुगेका पाठापाठी छ हजार रुैयाँमा बिक्री हुने गरेको छ ।’ 

माउ बंगुरले एकै बेतमा १६÷१७ वटासम्म पाठापाठी पाउँछ । ‘फार्मबाट धेरै पाठापाठी नै बिक्री हुन्छन्, हुर्केका बङ्गुर मासुका लागि बजार जान्छ’,  व्यवसायी रानाले भन्नुभयो, ‘ बजार माग बढ्दै गएकाले बंगुरमा गरेको लगानी खेर जाँदैन, व्यवसाय सन्तोषजनक नै छ।’ 

रानाको बंगुरपालन व्यवसायसँगै ब्लक उद्योग पनि छ । दुवै व्यवसायमा उहाँको करिब ३२ लाख रुपैयाँ लगानी रहेको राना बताउनुहुन्छ। जहाँ छ जनाले रोजगारी पाएका छन् ।
उहाँले ब्लक र फार्मका लागि वार्षिक ४२ हजार तिर्ने गरी ठेउलेखोलाछेउमा जग्गा भाडामा लिनुभएको छ । उहाँकोसँगै त्यहाँ अरुपनि बंगुर फार्म लहरै छन् ।
जेनिसाका अनुसार बङ्गुर फार्ममा रहेका ३० बंगुरमध्ये छ ब्याउने छन् । फार्मका सञ्चालक कमला थापाले दुई वर्षदेखि बंगुरपालन व्यवसायमा लागेको बताउनुभयो ।  उहाँको कुश्मीसेरा बजारमा आफ्नै मासु पसल पनि छ ।

श्रीमान जंगबहादुरसँगै उहाँ बंगुरपालनमा  रमाइरहनुभएको छ । ‘आफ्नै मासु पसल पनि भएकाले बङ्गुर बेच्न सहज छ, पाठापाठीबाट पनि राम्रो कमाइ हुन्छ”, उहाँले भन्नुभयो, ‘ 
‘हामीसँगै कुश्मीसेरा बजार आसपासमा १५ बढी किसान बङ्गुरपालनमा लाग्नुभएको छ, व्यवसायबाट सबै खुसी हुनुहुन्छ ।’

उहाँ जस्तै विकास श्रीस पनि बंगुरपालनमा रमाउनु भएको छ । श्रीसले १७ वटा बङ्गुरको हेरचार गर्नुहुन्छ । १२ लाख खर्चेर तीन वर्षअघिदेखि बंगुर फार्म चलाएको श्रीसले बताउनुभयो । बंगुरपालनसँगै हाँस र माछापालन गर्ने योजना पनि रहेको श्रीस बताउनुहुन्छ। उहाँले वार्षिक २१ हजार रुपैयाँ तिर्नेगरि जग्गा भाडा लिएर बंगुरपालन गरिरहनु भएको छ। 
मासु र पाठापाठीको माग बढेपछि बंगुरपालनमा किसानको आकर्षण बढेको जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताउनुभयो । अहिले गाउँगाउँमा व्यावसायिक रुपमा बंगुर पाल्ने क्रम बढेको उहाँले बताउनुभयो । पहिले थोरै पाल्ने किसानले पनि अहिले संख्या बढाउँदै लगेका छन् । लगानी थपेका छन् ।

न्यून पूँजी भएका किसानले पनि बंगुरपालनबाट वर्षमा चार÷पाँच लाख रुपैयाँ कमाउन थालेको उहाँले जानकारी दिनुभयो। 
थोरै लगानी र कम समयमै राम्रो प्रतिफल आउने हुँदा बंगुरपालन किसानको रोजाइमा पर्न थालेको हो । किसानलाई बंगुरपालनमा प्रोत्साहित गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाले अनुदान सहयोग गर्दै आएको छ ।

दर्ता भएका र मापदण्ड पूरा गर्ने बंगुरपालक किसानलाई नगरपालिकाबाट प्रोत्साहन अनुदानबापत २५ हजार सहयोग गरिएको पशु शाखा प्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जैमिनीभरिमा सयभन्दा बढी किसान बंगुरपालन व्यवसायमा छन् । व्यवसाय दर्ता गरेर चलाउनेको संख्या भने कम छ ।
जैमिनी–१० को राङखानी बंगुरपालनका लागि बढी उपयुक्तस्थल मानिन्छ । त्यहाँ बंगुरको पकेट क्षेत्र विकास गर्न पशु सेवा विज्ञ केन्द्रले योजना सञ्चालन गरेको छ । जैमिनीसहित बागलुङ, गलकोट नगरपालिका, काठेखोला गाउँपालिकालगायतका क्षेत्रमा बंगुरपालन व्यवसाय फस्टाउँदो छ ।
रासस