२२ माघ, २०८१ मंगलबार

11:48:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

देवघाटधाममा माघे सङ्क्रान्ति मेलाको तयारी

२१ पुस, २०७८

देवघाटधाममा माघे सङ्क्रान्ति मेलाको तयारी

चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

देवघाट मेला व्यवस्थापन मूल समितिको भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको चितवनका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले जानकारी दिनुभयो ।

उहाँले देवघाट मेलालाई व्यवस्थित गर्न नवलपुर र तनहुँसँग समन्वय गरी काम थालिएको बताउनुभयो । माघे सङ्क्रान्ति मेलाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने र स्नानको समयमा कुनै दुर्घटना नहोस् भनेर स्नानघाट नजिकै गोताखोर प्रहरीसमेत तयारी गरेकोे बताउनुभयो ।

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनको देवघाटतर्फ प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४८१ सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो  ।

त्यस्तै तनहुँतर्फ १५० प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सुशील लामिछानेले बताउनुभयो  । नवलपुरतर्फ ६० भन्दा बढी प्रहरी परिचालन गरिने छ । सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीका प्रहरी नायब उपरीक्षक सुशील शाहीले विपद् व्यवस्थापन गर्नसमेत सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताउनुभयो ।

मेला अवधिभर लोडसेडिङ नहुने गरी तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले देवघाटमा बत्ती मर्मत र आकस्मिक कामका लागि पुस ३० गतेदेखि ६ जनाको प्राविधिक टोली परिचालन गरिने बताउनुभयो  । देवघाटमा क्षेत्रमा भरतपुर–१ को देवघाट र भरतपुर–२९ को दासढुङ्गाबाट विद्युत आपूर्ति गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले माघ १ गते देवघाटमा एकतर्फीमात्रै यातायात सञ्चालन गर्नेगरी रुट निर्धारण गरिएको बताउनुभयो  । काठमाडौँ तथा पोखराबाट देवघाट स्नानका लागि आउने सवारीलाई दासढुङ्गाको पुल तरेर तनहुँतर्फ पठाइने थापाले  बताउनुभयो । सो क्रममा चितवन र तनहुँको देवघाटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण भएकाले पुलमा लाइन लगाएर तीर्थयात्रीलाई वारपार गराइने छ । पुलमा एकपटकमा २०० जनालाई मात्रै छोडिने र उनीहरु वारपार भएपछि मात्रै अर्को समूहलाई तर्न दिइने छ ।

त्रिशूली र कालीगण्डकी नदीको वेणी सङ्गममा स्नानका लागि जान चितवन र नवलपुरतर्फबाट ¥याफ्टिङ डुङ्गासमेत सञ्चालन हुनेछन् । सो क्षेत्रमा कम्तीमा ३० ¥याफ्टिङ डुङ्गा सञ्चालन गरिने ¥याफ्टिङ डुङ्गा संयोजक सिर्जन शर्माले बताउनुभयो । नदी तरेर वेणीमा जानका लागि एकतर्फी भाडा  ३५ तोकिएको छ ।

मेलामा ५ लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ । तीर्थयात्रीलाई आगो ताप्न धुनीको र पानीको व्यवस्थापन तथा सवारी पार्किङको व्यवस्थापन भइसकेको घिमिरेले बताउनुभयो ।

रासस