२२ माघ, २०८१ मंगलबार
11:27:34 AM
२० पुस, २०७८
२० पुस, काठमाण्डौं
नेपाल सेक्यूरिटी मजदुर संघ आन्दोलनमा उत्रिएको छ। जीफोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रालिले सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरेको र आफूहरुको सेवा, सुविधा घटाएको भन्दै बालुवाटारस्थित सेक्यूरिटी मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्।
उनीहरुले मंगलबार जी फोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रालिको कार्यालय अगाडि कालो ब्यानर, कालो झण्डासहित प्रदर्शन गरेका हुन्।
जी फोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रालिले श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन नगरेको उनीहरुको भनाइ छ।
यस्तै आफूहरुले पाइरहेको सेवा, सुविधा घटाउने कार्य गरेका कारण आफूहरु आन्दोलनमा उत्रिएको सेक्यूरिटी मजदुर संघले जनाएको छ।
कम्पनीले सामाजिक सुरक्षा कोषमा जानुपूर्व उपदान, सञ्चय कोषको रकम फिर्ता नगरेको, उपदानबापतको रकम नागरिक लगानी कोषमा जम्मा नगरी आर्थिक हिनामिना समेत गरेको संघको आरोप छ।
जी फोर एस व्यवस्थापनसँग पटक–पटक वार्ता गरे पनि आफूहरुको माग सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिनु परेको अखिल नेपाल सेक्यूरिटी मजदुर संघले जानकारी दिएको छ।
संघले श्रम ऐन २०७४, सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्न माग गरेको छ।
यस्तै नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पाउनुपर्ने, १ वर्ष पूरा भएका श्रमिकको मासिक पाउने आधारभुत पारिश्रमिकको कम्तीमा आधा बराबरको वार्षिक ग्रेड रोकिएकाले त्यसलाई सुचारु गर्नुपर्ने माग संघको छ ।
सामाजिक सुरक्षा कोषमा जानुपूर्वको उपदान र सञ्चयकोषको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, श्रमिकको विदा स्वीकृत गरी ८ घण्टा बराबरको पारिश्रमिक दिने व्यवस्था गर्नुपर्ने लगायतको पनि माग संघको छ।