काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा शनिबार बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले जानकारी दिनुभयो ।
यसैगरी भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवं विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।