५ जेठ, २०८१ शनिबार

10:18:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मासिक ४० हजार कमाउन विदेश जानु पर्दैन

१९ पुस, २०७८

वैदेशिक रोजगारीमा कमि हुँदै

मासिक ४० हजार कमाउन विदेश जानु पर्दैन

काठमाण्डौं, पुस १९
इलामको माई नगरपालिका–८ का सविन राई सन् २०१२ मा वैदेशिक रोजगारीका लागि मलेशिया जानु भएको थियो । ६ वर्ष विदेशमा बस्दा विरामी भएपछि सामान्य उपचार मलेशियामा नै गरेपछि राई बिदा मागेर थप उपचारका लागि  नेपाल आउनुभयो । 
बिदामा बसेकै समयमा गाउँमा युवा सशक्तीकरण कार्यक्रम सञ्चालनको तयारी भइरहेको थियो । जर्मन सरकारको सहयोगमा जिल्लास्थित मानव अधिकार मञ्च नेपालद्वारा उक्त कार्यक्रममा आबद्ध भएर तालिम लिएपछि दुई सुँगुरका पाठा खरिद गरेर ५ हजार ५ सयले दुई वटा बङ्गुरका पाठाबाट काम सुरु गर्नु भयो ।  


व्यावसायिकरूपले बङ्गुर पाल्नका लागि थप पाठा खरिद गदै व्यवसाय सुरु गर्दा सोही परियोजनाले करिव १२ हजार सहयोग गरेको थियो । तालिम र बीउ पुँजीबाट हाल १५ वटा माउ सुँगुर र अन्य गरी ३० वटा सुँगुर पाल्दै आउनुभएको  र हाल मासिक ३० हजारसम्म कमाउन थालेको बताउनुभयो ।  

वडा नं ९ चिसापानीकी रञ्जना राई पनि हाल व्यावसायिक बङ्गुरपालनमा लाग्नुभएको छ । पहिला एउटा मात्र बङ्गुर पाल्दै आउनुभएकी कार्यक्रम सुरु भएपछि व्यावसायिकरुपमा नै सुँगुर पाल्न थाल्नुभएको हो । रन्जनाले अहिले १० वटा सुँगुर पाल्नुभएको छ । गएको चैत महिनाबाट व्यवसाय सुरु गर्नुभएकी  उक्त मञ्चको कार्यक्रमबाट पाँच हजार र माई नगरपालिकाबाट  १२ हजार ४ सय ८५ सहयोग प्राप्त भएको थियोे । रन्जनालाई अहिले बङ्गुरपालन व्यवसायबाट खान, लाउन र घरखर्च चलाउन सहज भएको छ । मासुबाट भन्दा पनि माउ सुँगुरबाट बढी आम्दानी हुने महसुस भएर उहाँले बढी माउ सुँगुर पाल्नुभएको हो । 
किसानलाई उक्त  कार्यक्रमले व्यावसायिक बन्न मद्दत गरेकोे छ । मञ्चले सन २०१९ बाट पालिकाका प्रत्येक वडामा १०ं/१० किसान भेला पारेर रुचिअनुसार बङ्गुरपालन, बाख्रापालन, कुुखुरापालन र तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरेको थियो  । 
दुई स्थानीय तहमा सञ्चालित कार्यक्रम प्रभावकारी भएपछि अन्य दुई पालिकामा समेत कार्यक्रम थप भएको छ । आप्रवासी सामाजिक रुपान्तरणका लागि युवा परियोजना कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय किसान व्यावसायिक हुन थालेका हुन् । सन् २०२० बाट चुलाचुली गाउँपालिका र सन् २०२१ बाट माईजोगमाई गाउँपालिकामा कार्यक्रम थप गरिएको थियो । सन् २०२२ मा भने चुलाचुली र माईजोगमाई गाउँपालिकामा एकसाथ यो कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक सन्तोष मगरले जानकारी दिनुभयो ।


स्थानीय पालिकासँग समन्वय गरेर उक्त मञ्चले जर्मन सरकार र ए डब्लुओ नामक अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो । विशेष गरेर १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवालाई सामाजिक कार्यमा लगाउँदै व्यावसायिक बन्न कार्यक्रम सफल बन्ने अपेक्षा गरिएको छ ।

समूहसँगै युवायुवतीलाई स्वरोजगार बनाउने गरी परियोजनामार्फत हालसम्म ६ सय ६४ जनालाई उद्यमशीलता तालिम प्रदान गरिएको छ । ३ सय ५७ जनालाई सिपमूलक तालिमसमेत प्रदान गरेको  छ । परियोजनाले आफ्नो समय अवधिभर ४ सय ४० जनालाई उद्यमशीलता तालिम दिने लक्ष्य लिए पनि स्थानीय तहले थप १ सय २० जनालाई तालिमका लागि रकम र आवश्यक सामग्री उपलब्ध गराएको छ । हाल तालिम प्राप्त युवाले स्थानीय तह र घरेलु तथा साना उद्योग विकास कार्यालयमा आफ्नो उद्योग दर्ता गराउनसमेत थालेका छन । परियोजनामा सहभागी ८० प्रतिशत बढी युवाले विभिन्न व्यवसाय दर्ता गरेर व्यावसायिक बन्न सुरु गरेको कार्यक्रम संयोजक मगरको भनाइ थियो ।

सन् २०१९ मा एक जना बराबर  १० हजार, सन् २०२० र ०२१ मा एक जना बराबर  १२ हजार ४ सय ८५ का दरले सहयोग गर्दै आएको बताइएको छ । हालसम्म जम्मा  १३ लाख १० हजार ९ सय २५ युवालाई सामग्री खरिद भइसकेको र ती सामग्री कार्यक्रम सुरु भएका नयाँ स्थानीय तहमा प्रयोग  हुने बताइएको छ । परियोजना सम्पन्न गर्न २ करोड ९८ लाख १९ हजार ९२८ प्राप्त भएकामा सन् २०२१ मा प्रशासनिक खर्चतर्फ  ३२ लाख ३३ हजार २४७ खर्च गरिनेछ । कार्यक्रमतर्फ  ८४ लाख, ८८ हजार ५ सय खर्च हुने भएकोमा  प्रशासनतर्फ ३५ प्रतिशत र कार्यक्रमतर्फ ६५ प्रतिशत खर्च गरिने बताइएको छ