७ मंसिर, २०८१ शुक्रबार

04:44:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धान उत्पादन पाँच वर्षयताकै कम, कुन प्रदेशमा कती उत्पादन ?

१९ पुस, २०७८

धान उत्पादन पाँच वर्षयताकै कम, कुन प्रदेशमा कती उत्पादन ?


चालू आर्थिक वर्ष २०७८/०७९ मा गण्डकी प्रदेश बाहेकका ६ वटै प्रदेशमा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । 
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आवमा धान उत्पादनमा देशभर ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको छ। गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै आव २०७६/०७७ मा ५५ लाख ५० हजार ८ सय ७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पु¥याउदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ ।
 

कुन प्रदेशमा कति उत्पादन ?

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा चार लाख ४१ हजार ९ सय १३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।  
यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश नं १ मा ०.९३ प्रतिशत, प्रदेश नं २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।  चालू आवमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।