८ मंसिर, २०८१ शनिबार
06:10:03 AM
१६ जेठ, २०७९
अर्थमन्त्रीले सिमेन्ट र कर्कटपाता निकासी गरेर व्यापारघाटा घटाउने सरकारको सोच राखिएको बताउनुभयो ।
काठमाण्डौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अन्तर्राष्ट्रिय रुपमा विकास भएको परिस्थितिलाई पनि ख्याल गरेर कृषि क्षेत्रलाई विशेष रुपमा ध्यान दिइएको तथा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने सोचका साथ बजेट आएको बताउनुभएको हो ।
उहाले रोजगारीको विस्तार, आर्थिक वृद्धि, निर्यात विस्तार गर्नेतर्फमा ध्यान दिइएको तथा जनताको हातमुख जोड्ने विषयलाई बजेटमार्फत प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
बजेटले देशलाई समृद्ध बनाउने र नेपाली जनताको विकासको चाहनालाई पनि सम्बोधन गर्ने दावी गर्नुभयो । त्यसैगरी अर्थमन्त्रीले सिमेन्ट र कर्कटपाता निकासी गरेर व्यापारघाटा घटाउने सरकारको सोच राखिएको बताउनुभयो ।
उहाँले हरेक क्षेत्रमा पहिलो पटक लक्ष्य नै निर्धारण गर्दै बजेट तयार पारिएकाले आठ प्रतिशतको आर्थिक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत बढी योगदान रहेको भन्दै त्यसलाई उत्पादनका लागि उत्साहित बनाउने गरी बजेटको प्रबन्ध बताउनुभयो ।
अर्थमन्त्री शर्माले पूर्वाधार करको रुपमा लगाइएको कर घटाएर इन्धनको मूल्य घटाउने योजनामा सरकार रहेको र त्यसका लागि सहमति दिने चरणमा रहेको बताउनुभयो । सरकारको समेत स्वामित्व रहने गरी बन्द भएका उद्योग सञ्चालन गर्ने र निजी क्षेत्रको सहभागिता गराउने सोच सरकारको रहेको उहाँको भनाइ छ ।
अर्थमन्त्री शर्माले चालू आवमा ३५.६४ प्रतिशत बराबरको वैदेशिक सहायता लिइएकामा आगामी आवमा ३०.८७ मा झारेको जानकारी दिनुभयो ।
उहाले नेपालको कृषि क्षेत्रको रूपान्तरण गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र निरपेक्ष गरिबी निवारण गर्ने काम बजेटको प्राथमिकता रहको धारणा राख्नुभयो ।