५ जेठ, २०८१ शनिबार

09:44:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किसानलाई प्राङ्गारिक मल प्रयोग गर्न कृषि मन्त्रालयको सुझाव

१८ पुस, २०७८

विषम परिस्थितिका कारण आयात गर्न सकिएनः मन्त्रालय

 किसानलाई प्राङ्गारिक मल प्रयोग गर्न कृषि मन्त्रालयको सुझाव

काठमाण्डौं, पुस १८

रासायनिक मल उपलब्ध नभएर अभाव भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङ्गारिक मलले काम चलाउन किसानलाई आग्रह गरेको छ। अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आपूर्ति हुन नसकेपछि बजारमा मलको अभाव भएको मन्त्रालयले स्विकारेको छ।

यो वर्ष पनि रासायनिक मलको चरम अभाव भएको छ। मन्त्रालयले पत्रकार सम्मेलन गरेर आगामी दिनमा माग हुने मलको चाप थेग्न नसकिने प्रष्ट पारेको छ।

रासायनिक मल आयात र वितरणको कार्यम संलग्न कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका गोदाममा हाल १० हजार ५०० टन युरिया, १२०० टन डिएपी र करीब ५०० टन पोटास गरी जम्मा १२ हजार २०० टन मल मात्रै मौज्दात छ। मन्त्रालयको आकलनमा आगामी तीन महीनाका लागि मात्र कम्तीमा ७५ हजार टन मल आवश्यक पर्छ। 

मल खरीदका लागि गरिएका ग्लोबल टेन्डर र खरीद सम्झौता मार्फत हालसम्म आपूर्ति भइसक्नुपर्ने करीब १ लाख ५० हजार टन मलखाद अन्तर्राष्ट्रिय बजारमा देखिएको विषम परिस्थितिका कारणले आयात हुन नसक्दा अभाव भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले समस्या निराकरणका लागि हरसम्भव पहल गरिरहेको र मल खरीद तथा आपूर्तिका वैकल्पिक उपाय स्वरूप सरकार–सरकार छलफल गरी मल आपूर्तिको पहल गरिरहेको जनाएको छ। 
अहिलेको विषम परिस्थतिमा उपलब्ध मलखादलाई किफायती र सन्तुलित रूपमा प्रयोग गर्न र जैविक तथा प्राङ्गारिक मलको समेत प्रयोग बढाएर बाली उत्पादन लिने उपाय अवलम्बन गर्न मन्त्रालयले किसानलाई सुझाव दिएको छ।