६ बैशाख, २०८२ शनिबार
10:32:38 AM
१८ पुस, २०७८
माघ १ गतेदेखि प्रदर्शन हुने
काठमाण्डौं, पुस १८
युवा निर्देशक सरिता साहको निर्देशनमा ‘ढकियामे नागरिकता’ नाटकको पोस्टर सार्वजनिक भएको छ ।उक्त नाटक माघ १ गतेदेखि १० गते सम्म हरेक दिन साँझ ४ः३० बजे शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ ।
नाटकको माध्यमबाट जन्मसिद्ध नागरिकता पाएका आमा बुवाको छोराछोरीले वंशजको आधारमा नागरिकताविहीन हुन पुगेको, विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान मरेपछि नागरिकता नपाएको कारण राज्यले दिने विभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुन पुगेको, भूमि नभएको कारण नागरिकता नपाएको जस्ता समस्याहरु देखाउने कोशिस गरिएको छ ।
राज्य सत्ताले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौँ नागरिकहरु अनागरिक हुनु परेको भन्दै साहले आफ्नो नाटकमार्फत आमनागरिकको समस्या जनसमुदाय समक्ष प्रस्तुत गर्ने बताउनुभएको छ ।
‘नागरिकता सम्बन्धि राज्यले बनाएको कानून कार्यान्वयन नहुदाँ लाखौँ नागरिकहरु नागरिकता बिहीन हुन पुगेका छन्’, निर्देशक साहले भन्नुभयो, ‘संविधानमा भएको व्यवस्था कार्यान्वयन नगर्ने समस्या त छँदै छ, अर्कोतर्फ पुरुषवादी र नस्लवादी सोचका कारण पनि खास गरि महिलाहरुलाई नागरिकता लिन समस्या छ । जन्मशिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ भन्ने डरलाई नाटकमार्फत प्रस्तुत गरिएको छ ।’
नाटकको विषय वस्तुबारे निर्देशक तथा लेखक साहले भन्नुभयो, ‘‘राज्य सत्तामा रहेका व्यक्तिहरुले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानूनहरु कार्यान्वयन नगर्ने, अदालतको आदेश सिडियोले नमान्ने जस्ता समस्याहरु देखिएको छ । कही न कही प्रशासनको पनि कमि देखिएको कुरालाई नाटकमा दर्शाइएको छ । नागरिकता कुनै बाँड्ने चिज होइन्, यो सम्पूर्ण नागरिकको अधिकारको विषय रहेको कुरालाई जोडदार रुपमा प्रस्तुत गरिएको छ ।’
नाटकमा कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी(, सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी) , आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), संजय मुडियारी (मोरङ), सुदिप जंङ कार्की (मोरङ), सुदिप पटेल (धनुषा) , सुस्मिता पोख्रेल (सुनसरी), आकाश झा (महोत्तरी) र प्रिन्सेज साहको अभिनय रहेको छ