६ जेठ, २०८१ आइतबार

03:16:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२० अर्बको लगानीमा जगदुल्ला जलविद्युत आयोजनाको निर्माण

Nepal Business

१८ पुस, २०७८

दैनिक १ करोड २० लाख आम्दानी गर्ने अपेक्षा

२० अर्बको लगानीमा जगदुल्ला जलविद्युत आयोजनाको निर्माण

काठमाण्डौं, पुस १८
स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको काम तीव्र गतिमा अघि बढेको छ । जटिल भू–बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामले गति लिएको स्थानीयवासीहरुले बताउनु भएको छ ।
जगदुल्ला जलविद्युत् आयोजना ९ हजार १ सय ६ मेगावाटका लागि मुआब्जा वितरणदेखि स्थानीयवासीसँगको सहकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनु भयो । जगदुल्ला  हाइड्रोपावर कम्पनीसँगै काम थालिएका आयोजनाको काम जटिल भए पनि बाधा अड्चनबिना नै अहिलेसम्म काम अघि बढेको छ । 
मुड्केचुला गाउँपालिका–४ इलमा विद्युत् उत्पादन गृह निर्माण हुनेछ भने, जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य ड्याम रहनेछ । “नेपालको पानी जनताको लगानी” अन्तर्गत आयोजनाले विद्युत् उत्पादन गर्नेछ । करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक १  करोड २० लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा लिइएको छ । राज्यलाई वार्षिक २९ करोड राजश्व उपलब्ध गराउने लक्ष्य रहेको छ ।
आयोजनाको विद्युत गृहस्थल इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलकोसमेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताइएको छ । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङको ३ सय २० मिटर खन्ने काम सम्पन्न भएकोे छ । अस्थायी कार्यालय तथा आवास भवनको निर्माणको काम समेत सम्पन्न गरिसकेको छ । जटिल भूगोल र हेलिकप्टरबाट ल्याइएका सामग्रीबाट त्यहाँको नमूना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यकपर्ने २ सय ६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन  (डिपिआर) को काम समेत सम्पन्न भइसकेको छ । 


आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार आयोजना निर्माणको कुल लागत २० अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसअघि भने यसको लागत २३ अर्ब अनुमान गरिएको आयोजनाका कार्यकारी प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत उत्पादन गृहमा खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य छ । कुल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । 
जगदुल्ला गाउँपालिका–१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ । यहाँ करिब ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउने भएका छन ।  
३ करोड रुपैयाँ लागतमा जगदुल्लाबाट मुड्केचुलाको सीमासम्म सडकको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको समयमा सम्पन्न हुन मुस्किल देखिएको छ । काइगाउँबाट मुड्केचुलासम्म जोड्ने सडकको काम सुरु गरिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।