१६ कार्तिक, २०८१ शुक्रबार
05:09:14 PM
१३ जेठ, २०७९
आज तिमी मेरो बालेनबाट हाम्रो बालेन
काठमाण्डौं । काठमाण्डौं महानगरपालिका प्रमुखका लागि नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) लाई पत्नी सबिना काफ्लेले बधाई दिनुभएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै उहाँले घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार नहुने बताउनुभएको छ ।
साथै आफूले बालेनलाई कहिले हार्न नदिने पनि बताउनुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘ मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।’
यस्तै उहाँले महानगर प्रमुख बालेनको संयमता नै शक्ति भएको पनि बताउनुभएको छ । ‘तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मेहनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् ! घरी घरी डर पनि लाग्छ अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् । अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास, मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ । घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई’, उहाँले भन्नुभयो ।