९ मंसिर, २०८१ आइतबार
11:49:59 AM
१६ पुस, २०७८
नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सव
काठमाडौँ, १६ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ महामारीका कारण समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेकाले प्रतिकुल परिस्थितिमा नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको धारणा राख्नुभयो । पर्यटनमन्त्री आलेले बोर्डलाई सङ्घीय संरचना अनुरुप लैजान तथा कर्मचारीको वृत्ति विकासमा अवरोध नआउने गरी काम भइरहेको बताउँदै उत्साहका साथ काम गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले पर्यटन पुनःरुत्थानमा व्यवसायीलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक भएको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयसमेतले पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएकोले यसको पुनःरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले पर्यटन पुनःरुत्थानमा व्यवसायीलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक भएको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयसमेतले पहल गरिरहेको बताउनुभयो ।
यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताउनुभयो । उहाँले बोर्ड स्थापनाको २३औँ वर्षसम्म आइपुग्दा थुप्रै उतार चढाव ब्यहोरेको उल्लेख गर्दै विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिने लाहे थापाले कोभिड सङक्रमणबीचमा पनि बोर्डले आफ्नो कामलाई निरन्तरता दिएकै कारण बोर्डले बेलायतामा अर्वाड प्राप्त गरेको जानकारी दिनुभयो । बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले कोभिडले अन्तरराष्ट्रिय पर्यटन आगमन घटेको सन्र्दभमा बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम अगाडि सारेको जानकारी दिनुभयो । बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले हरेक कठिन परिस्थितिमा बोर्डका कर्मचारीले काम गरिरहेको उल्लेख गर्दै कर्मचारीको वृत्ति विकासमा ध्यान दिन मन्त्रालय र बोर्डलाई आग्रह गर्नुभयो ।
यस्तै बोर्डको जर्मनीका लागि पूर्व मानार्थ जनसम्पर्क प्रतिनिधि दिलबहादुर गुरुङलाई उहाँले विदेशमा रहेर नेपालको पर्यटन प्रवद्र्धनमा गरेको योगदानको सम्मान गर्दै मन्त्री आलेले सम्मान गर्नुभएको थियो । यस्तै कार्यक्रममा पर्यटन मन्त्री प्रेमबहादुर आले र सचिव न्यौपानेले बोर्डले प्रकाशन गरेको इन्फोकस २०२१ को विमोचन गर्नुभएको थियो भने बोर्डको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा कोभिडको कारण ज्यान गुमाउनु भएका बोर्डका सवारी चालक हिराबहादुर ढकालकी धर्मपत्नीलाई नगद सहयोगसहित प्रमाणपत्र प्रदान गरिएको थियो । रासस