८ मंसिर, २०८१ शनिबार
06:59:21 AM
९ जेठ, २०७९
नेपालले निर्यात गर्न सक्ने र तुलनात्मक लाभका वस्तुहरु के के हुन सक्छन् भनेर अध्ययन गर्छौ
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट स्वदेशी उत्पादन र उपभोग बढाउने अभियान सुरु गरिने बताउनुभएको छ । सोमबार एक कार्यक्रममा बोल्दै मन्त्री बडूले निजी क्षेत्रको सहभागितामा स्वदेशी उत्पादन र उपभोग बढाउने अभियान सुरु गरिने बताउनुभएको हो ।
स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको उहाँले बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘स्वदेशी वस्तु उत्पादन र खपत दशकका रुपमा २०७९ देखि २०८९ सम्म अभियान चलाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय राख्ने सरकारको तयारी छ ।’
साथै, निजी क्षेत्रसँगको सहकार्यमा आगामी आर्थिक वर्षमा रुग्ण उद्योग समेत सञ्चालनमा ल्याउँदै स्वदेशी उत्पादन बढाउन सुरु गरिने पनि मन्त्री बडूले जानकारी दिनुभयो । ‘विगत देखि रुग्ण उद्योग सञ्चालन गरिनेछ भनिएको छ,’ मन्त्री बडूले भन्नुभयो,‘तर, यसपटक हामी वर्षाैदेखि बन्द रहेका उद्योग निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्छाैँ । त्यसका लागि मन्त्रालयले काम गरिरहेको छ ।’
त्यस्तै नेपालले निर्यात गर्न सक्ने र तुलनात्मक लाभका वस्तुहरु के के हुन सक्छन् भनेर अध्ययन गर्न लागिएको पनि मन्त्री बडूले बताउनुभयो ।