१६ कार्तिक, २०८१ शुक्रबार
07:15:43 PM
८ जेठ, २०७९
काठमाण्डौं । काठमाण्डौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित हुनुभएको छ । होडाले नेकपा (एमाले)का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय हुनुभएको हो ।
होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ कांग्रेसका रुपा थापाले जित हासिल गर्नुभएको छ भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय हुनुभएको छ ।
हालसम्म काठमाण्डौं महानगरपालिका वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ ।
काठमाण्डौंको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनि सक्दा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३८ हजार ८९४ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले)का केशव स्थापितले २० हजार ९६५ र नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार ५३८ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले पनि आफ्नो अग्रता कायमै राख्नुभएको छ । उहाँले ३८ हजार ३५१ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत प्राप्त गर्नुभएको छ ।
रासस