५ जेठ, २०८१ शनिबार

09:44:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७ अर्बको मकैको बीउ आयात

१६ पुस, २०७८

नेपालले वार्षिक झण्डै पशुपन्छीको दानाको लागि चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ ।

७ अर्बको मकैको बीउ आयात


काठमाण्डौं, पुस १६

चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका १ लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएका हुन् ।
केही वर्षदेखि मकैको बीउको आयात बढ्दै गएको तथ्याङ्क छ । मकैका बीउमा परनिर्भरता बढ्दै जान थालेपछि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा बीउको आयात बढेको बताउनुभयो । 


भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेटिना, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट ६ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका १ लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन ।


 सबैभन्दा बढी भारतबाट  ६ अर्ब २५ करोड ५७ लाख ४ हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९ सय ५० किलोग्राम मकैको बीउ आयात भएको छ । दोेस्रामा मकैको बीउ आयात हुने मुलुक अर्जेनटिना हो । सोही अवधिमा सो मुलुकबाट  ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० केजी मकैका बीउ आयात भएको छ ।
तेस्रो मकैको बीउ आयात हुने मुलुकमा दक्षिण अफ्रिका पर्दछ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सो मुलुकबाट  १० करोड ९७ लाख ७० हजार मूल्य बराबरका १२ लाख ७४ हजार केजी मकैको बीउ आयात भएको छ । यसैगरी सो अवधिमा ब्राजिलबाट ७ लाख ९२ हजार २ सय ४० केजी, टर्कीबाट  ३ लाख ४५ हजार केजी, अमेरिकाबाट ३ लाख ८ हजार ४ सय २० केजी र क्यानडाबाट  ८ हजार ८०० केजी मकैको बीउ आयात भएको भन्सार विभागले जनाएको छ ।
आयात भएको मकैको बीउ खरिद गर्दा नेपालले ब्राजिललाई ६ करोड ४३ लाख ७० हजार, टर्की र अमेरिकालाई २ करोड ९६ लाख ९७ हजार र क्यानडालाई  ६६ लाख २४ हजार भुक्तानी दिनुपरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकैको बीउ आयातबाट राज्यले  ३७ करोड ४ लाख ४२ हजार भन्सार असुली गरेको छ ।
नेपालले वार्षिक झण्डै पशुपन्छीको दानाको लागि चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ ।
पछिल्लोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मकै उत्पादनलाई प्राथमिकता दिएको छ । यो परियोजना आर्थिक वर्ष २०७४÷०७५ बाट सुरु भएको हो । नेपालमा झण्डै नौ लाख हेक्टर जमीनमा मकै खेती गरिन्छ । उच्च पहाडमा ११, मध्य पहाडमा ७१ र तराईमा १८ प्रतिशत जमिनमा मकै खेती गरिन्छ । नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ ।