८ मंसिर, २०८१ शनिबार
09:06:26 AM
३ जेठ, २०७९
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाह र उपप्रमुख पदमा सुनिता डंगोलको अग्रता जारी रहेको छ।
हालसम्मको मतपरिणाम अनुसार काठमाण्डौं महानगरपालिकाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिनुभएका शाहले १० हजार८ सय ९९ मत ल्याएर आफ्नो अग्रता कायम राख्नुभएको छ। त्यस्तै उपप्रमुखमा भने नेकपा एमालेका डङ्गोलले नौ हजार ८१५ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ।
त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले पाँच हजार ८ सय ४१ र नेपाली कांग्रेसका सिर्जना सिंहले पाँच हजार एक सय १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।
वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ। परिणाम अनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
हाल काठमाण्डौं महानगरपालिकामा २५ हजार ९४ मतणाना भइसकेको छ। जसमा ८८२ मत बदर भएको छ । काठमाण्डौं महानगरपालिका कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३.४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जानकारी दिएको छ।