१९ मंसिर, २०८१ बुधबार

02:26:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार उद्घाटन गरिँदै गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

Nepal Business

१ जेठ, २०७९

सोमबार बिहान कुवेतको जजिरा एयरलाइनसले पहिलो व्यावसायिक उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल औपचारिक रूपमा व्यावसायिक रुपले सञ्चालनमा आउनेछ

सोमबार उद्घाटन गरिँदै गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

लुम्बिनी,
बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल उद्घाटन हुने भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा हवाई मार्ग हुँदै आउने पर्यटकलाई केन्द्रित गरी लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उक्त विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा हवाई मार्ग हुँदै आउने पर्यटकलाई केन्द्रित गरी लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ ।

यो विमानस्थल सञ्चालनमा आउँदा बुद्ध जन्मस्थल लुम्बिनीलाई विमानस्थलले अन्तर्राष्ट्रियजगत्सँग सिधा हवाई सम्पर्क स्थापित गर्नेछ ।

सोमबार बिहान कुवेतको जजिरा एयरलाइनसले पहिलो व्यावसायिक उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल औपचारिक रूपमा व्यावसायिक रुपले सञ्चालनमा आउनेछ ।

करिब एक महिनादेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरिए पनि अन्तर्राष्ट्रिय उडान भने सोमबारदेखि मात्र हुनेछन् ।

बुद्ध जयन्तीका अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सले पहिलोपटक सोमबार बिहान १७५ जना यात्रु बोकेर विमानस्थलमा जहाज अवतरण गर्ने कार्यतालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिनुभयो ।

उक्त विमान सोमबार नै ९० जना यात्रु बोकेर कुवेत प्रस्थान गर्ने महाप्रबन्धक दाहालले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियरूपमा व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले यहाँबाट नियमित रुपमा हप्तामा तीनवटा उडान भर्ने गरी अनुमति लिएको र अन्य एयरलाइन्स थाई स्माइल एयरलाइन्स, श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका अनुमति लिने तयारीमा रहेको महाप्रबन्धक दाहालले जानकारी दिनुभयो ।

विसं २०७१ को माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

विभिन्न खालका आन्दोलन र कोभिड महामारीका कारण ८ वर्षपछि मात्र यो राष्ट्रिय गौरवको आयोजनाले पूर्णता पाएको छ ।

विमानस्थलमा आठतले कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ, विद्युत् सबस्टेशन, सुरक्षाकर्मी आवास गृह, चेकिङ काउन्टर, प्रशासनिक भवन, अध्यागमन, कार्गो भवनलगायत संरचना निर्माण भएका छन् ।

तीन हजार मिटर लामो धावनमार्गसहित पाँच विमान पार्किङ क्षमता छ । एक हजार ९०० मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्याङ्की, बगैँचाहरूलगायत आवश्यक संरचना तयार भएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर बस ३३०, बोइङ ७७७–२०० सिरिजलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन् ।

विमानस्थलको क्षमता प्रतिघण्टा ४०० यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ ।

अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो विमानस्थलको लगानी अहिलेसम्म करिब रु ३२ अर्ब पुगेको बताइएको छ ।