१० मंसिर, २०८१ सोमबार
11:49:03 AM
१४ पुस, २०७८
दैनिक ४० हजारदेखि १ लाखसम्मको कारोबार
काठमाण्डौ, पुस १४
व्यास नगरपालिका–५ चापाघाटको सिर्दीस्थित झलकबहादुर आलेको बङ्गुर फार्ममा अहिले ४० बङ्गुर, सुङ्गुर र बँदेल ५ छन् । अहिले सो फार्ममा १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् ।
सिर्दीमा २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएका आलले मासु र पाठापाठी बेचेर दैनिक ४० हजारदेखि १ लाखसम्मको कारोवार गर्दै आउनु भएको छ । फार्ममा लगानी बढेर अहिले करिब एक करोड पुगेको अनुमान गरिएकोछ ।
विसं २०७० मा मासु व्यवसायसँगै उहाँले बङ्गुरपालन सुरु गर्नुभयो । फार्ममा आलेको परिवारबाहेक अन्य दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उहाँले निर्माण गरेका नौ वटा खोरमा बङ्गुर ४०, सुङ्गुर र बँदेल पाँच गरी कूल ४५ वटा रहेका छन् । उहाँले दमौलीमै मासु पसल लाइनमा तीन वटा मासु पसल खोलेर अन्य मासु व्यवसायीलाईसमेत होलसेलमा बिक्री गर्दै आउनुभएको छ ।
मासु पसल र बङ्गुरपालन व्यवसायबाट आलेले व्यास–३ देउराली नगरमा तीन तले पक्की घर निर्माण गर्नुभएको छ । बङ्गुर र राँगो पाल्नका लागि दुईजना कर्मचारीको व्यवस्थापन गरिएको र उनीहरुलाई खाना बस्न दिएर मासिक २० हजार तलब दिइरहेको आलेले बताउनुभयो ।
एउटै बङ्गुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच÷छ वटा जन्मन्छन् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बङ्गुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा हुने उहाँको भनाइ छ । ठूलो लगानीमा बङ्गुरपालन सुरु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उहाँको गुनासो छ ।
उक्त क्षेत्रमा रहेका ३६ वटा मासु व्यवसायीमध्ये बङ्गुर, सङ्गुरको मासु बिक्री गर्ने आले पहिलो नम्बरमा पर्नुहुन्छ । उहाँका अनुसार बँदेलको मासु प्रतिकिलो ६ सय रुपैयाँ, सुङगुर प्रतिकिलो ५ सय रुपैयाँ र बङ्गुर÷राँगो प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री गर्ने गरेको उहाँले बताउनु भयो ।
पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।