१ जेठ, २०८१ मंगलबार

08:57:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको चहलपहल

१४ पुस, २०७८

मङ्सिर मसान्तसम्म ३६ लाख शुल्क

हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको चहलपहल


काठमाण्डौं, पुस १४
 विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको हिजोआज चहलपहल बढ्न थालेको छ । कोरोना जोखिम कम हुँदै गएपछि गत साउन महिनादेखि हनुमानढोका दरबार क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो । 

साउन महिनामा दक्षिण एसियाली देशका ११ र अन्य देशका ३८ गरी ४९ पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आएका थिए । भदौ महिनामा अन्य देशका ७१ र दक्षिण एसियाली देशका ३० गरी १०१ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले बताउनु भयो । 

असोज महिनामा भने हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै बढेको थियो । असोजमा अन्य देशका ४ सय ७२ र दक्षिण एसियाली देशका १ सय ४९ गरी ६ सय २१ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । असोजको तुलनामा कात्तिकमा दरबार क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या तीन गुणाले बढ्यो । कात्तिकमा  २ हजार १०३ विदेशी पर्यटक दरबार क्षेत्रमा आएका थिए। 

कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलन थालेकाले मङ्सिरमा भने पर्यटकको सङ्ख्या केही घटेको छ । मङ्सिरमा अन्य देशका १ हजार २ सय २० र दक्षिण एसियाली देशका ६ सय ५३ गरी १ हजार ८ सय ७३ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका हुन। 


हनुमानढोका दरबार क्षेत्र भ्रमण गर्न आउने सार्क र बिम्स्टेक देशका नागरिकका लागि  १ सय ५० शुल्क लिइन्छ । अन्य देशका नागरिकलाई भने १ हजार लिने गरिएको लेखा अधिकृत खुयाजुले जानकारी दिनुभयो ।

पर्यटकबाट आर्थिक वर्ष २०७५÷२०७६ मा १८ करोड ७२ लाख २५ हजार ४ सय ५० आम्दानी भएको थियो । कोरोनाका कारण आव २०७६÷२०७७ मा ११ करोड ९९ लाख ६० हजार ५ सय ६० शुल्क उठेको छ । आव २०७७÷२०७८ मा १३ लाख ५८ हजार ४ सय ५० मात्र शुल्क उठेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष मङ्सिर मसान्तसम्म ३६ लाख शुल्क उठेको छ ।