१० मंसिर, २०८१ सोमबार
11:42:08 AM
१३ पुस, २०७८
गण्डकी, १३ पुस । “कुनैको नाम हो रुपा कुनैको बेगनास हो ।
ठूलो साना त जे जे छन् यो शोभा एकनाश हो ।।
रुपाको रुप झिल्केछ छ बेग्लै बेगनासको
फेवा प्रकृतिको पेवा के खोजी अरु तालको रु ।।”
कवि मुकुन्दशरण उपाध्यायको कविता सङ्ग्रह प्राकृत पोखराको ‘ताल’ शीर्षकको कविताको यस पंक्तिले पोखरा र आसपासका तालतलैयाको चर्चा मात्र गरेको छैन यहाँकोे सुन्दरताको पनि वर्णन गरेको छ ।
सात तालको वाटिका शहरका रुपमा ख्याती कमाएको लेखनाथका ताल साविक लेखनाथ नगरपालिकाभित्र रहेकामा अहिले लेखनाथसमेत समेटेर पोखरा महानगरपालिकामा गाभिँदा कतै यो क्षेत्र ओझेलमा पर्ने त होइन भन्ने चासो र चिन्ता पनि कायमै छ । यिनै चासो र चिन्ताका बीच पछिल्ला समयमा लेखनाथको मुख्य पहिचानका रुपमा स्थापित बेगनास, रुपालगायतका तालतलैयाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा पनि सरोकारवाला संस्था जागरुक बन्न थालेका छन् ।
सात तालको वाटिका शहरका रुपमा ख्याती कमाएको लेखनाथका ताल साविक लेखनाथ नगरपालिकाभित्र रहेकामा अहिले लेखनाथसमेत समेटेर पोखरा महानगरपालिकामा गाभिँदा कतै यो क्षेत्र ओझेलमा पर्ने त होइन भन्ने चासो र चिन्ता पनि कायमै छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित पर्यटन प्रवद्र्धन विषयक अन्तरक्रियामा बेगनास तालमा रहेको बराह थानलाई पर्यटकीय रुपमा उपयोग गर्ने प्रचुर सम्भावना रहेका कारण सम्बद्ध निकायमा यसको संरक्षणसँगै प्रवद्र्धन हुनुपर्नेमा वक्ताले जोड दिए । कार्यक्रममा बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रका धार्मिक एवं पर्यटकीय सम्भावनालाई उजागर गर्नेगरी तयार गरिएको गुरुयोजना प्रस्तुत गरिएको थियो ।
गुरुयोजना सम्बन्धमा जानकारी दिँदै ई सन्दिप डोटेलले बराह क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी कूल रु १० करोड ८० लाख लागतमा विभिन्न पूर्वाधार निर्माण गर्न सकिने बताउनुभयो । बराह क्षेत्र प्रवेशद्वार, डुङ्गा कक्ष, आरामस्थल, विवाह मण्डप, प्राचीन बराह शिला संरक्षण, गुरु आश्रम, टनेल, सभा कक्ष, वनभोजस्थल, प्राथमिक स्वास्थ्य कक्ष, विभिन्न देवीदेवताको मूर्तिसहितका संरचना निर्माण गरी यस क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।
बेगनास तालको पर्यटकीय सम्भावनाबारे प्रस्तुतीमार्फत चर्चा गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले यसका लागि स्थानीय सरोकारवालाको जागरुकता अपरिहार्य भएको बताउनुभयो । पूर्वाधार विकाससँगै त्यससँग कसरी अधिकतम पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्नेतर्फ ध्यान जानु आवश्यक भएको उल्लेख गर्दै उहाँले पर्यटकको बसाइ लम्ब्याउने किसिमका गतिविधिलाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।
प्रस्तुती हेरिसकेपछि गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सम्भावनायुक्त स्थलको संरक्षणसँगै प्रवद्र्धन र विकासका लागि सरोकारवालाले सम्बद्ध निकायमा समय समयमा झकझक्याइरहनुपर्ने बताउनुभयो । पोखरासँग गाभिँदा कतै लेखनाथ क्षेत्र ओझेलमा पर्ने त होइन भन्ने स्थानीयको चिन्ता रहेको आफूले पाउने गरेको बताउँदै उहाँले एकताबद्ध रुपमा सरोकारवाला सबै मिलेर प्रयास गरिएमा यस क्षेत्रमा देखिने गरी काम गर्न सकिने धारणा राख्नुभयो । बेगनास ताल बराहको धार्मिक पर्यटकीय विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उहाँले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले बेगनास बराह क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सङ्घले हातेमालो गर्दै अघि बढ्ने बताउँदै सबैको साथ र सहयोगमा समग्र लेखनाथ क्षेत्रको समृद्धि र विकासमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय विकाससँगै यस क्षेत्रको उत्पादन, प्रवद्र्धन र बजारीकरणका लागि संघले वर्षेनी महोत्सव गर्दै आएको र यसवर्ष पनि गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।
लेखनाथ उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले साविक लेखनाथ क्षेत्रका बेगनास तालसहितका तालतलैयाको प्रचुर पर्यटकीय सम्भावना रहेको बताउँदै प्रस्तावित योजनालाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने उल्लेख गर्नुभयो । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले बेगनास बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ सालमा महायज्ञ गरिएको जानकारी दिँदै उक्त क्रममा रु ७५ लाख बचत भएको बताउनुभयो । गुरुयोजनाका साथ बराह क्षेत्रको विकास गर्न लागिएको बताउँदै उहाँले रु पाँच लाखको लागतमा गुरुयोजना तयार गरिएको र आगामी दिनमा त्यसै अनुरुप अघि बढिने उल्लेख गर्नुभयो ।
समितिले यस क्षेत्रका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाउनुका साथै बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायत कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य लिएको छ । बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिनुका साथै तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण एवं बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको छ । साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाखको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको छ ।
बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि अघिल्लो वर्ष पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव उपेन्द्रराज सुवेदी, पर्यटन व्यवसायी दामोदरभक्त थापालगायतले बेगनास र आसपासको पर्यटकीय विकासका लागि तालचोक–बेगनासताल, माझिकुनालगायत स्थान पुग्ने बिग्रे भत्केका सडक मार्ग सम्बन्धमा सम्बन्धित निकायको तत्काल ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो । रासस