७ मंसिर, २०८१ शुक्रबार

12:39:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थारु समुदायमा व्यावसायिक तरकारी खेतीले आर्थिक परिवर्तन

Nepal Business

१३ पुस, २०७८

खपतका लागि स्थानीय बजार पनि धाउने गर्नुभएका चौधरीले यही व्यवसायले परिवारको खर्च चलेको बताउनुभयो । तरकारीबाटै कमाएर १३ कठ्ठा जमिन पनि गाउँमा किनेको छु । उहाँले भन्नुभयो, यहाँ आयमूलक काम गरेर समूहमा बचत गर्नेदेखि आत्मनिर्भर हुनेको सङ्ख्या बढिरहेको छ ।

थारु समुदायमा व्यावसायिक तरकारी खेतीले आर्थिक परिवर्तन

 काठमाण्डौं, पुस १३

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानहरु ज्यालादारी काम छोडेर तरकारी खेतीमा लाग्दा उनीहरुको आर्थिक अवस्थामा परिवर्तन आएको छ । अन्नबाली लगाएर जेनतेन गुजारा भैरेकोमा तरकारी खेतीले समुदायको आम्दानीमा बृद्धि गरेको हो ।  
आठ वर्षअघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका–३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्नुहुन्थ्यो । परिवारको आर्थिक अवस्था नाजुक थियो नै आफूसित भएको थोरै जमिनमा अन्नबाली लगाएर जेनतेन गुजारा गरिरहनुभएका  उहाँले गाउँमा तरकारी खेती गर्न थालेपछि चौधरीको आर्थिक अवस्थामा सुधार हुँदै आएको छ। स्थानीय तह र दातृ निकायले बीउबिजनका साथै गाउँमै पुगेर प्राविधिक सहयोगसमेत दिन थालेपछि चौधरीजस्तै थारु समुदायले अहिले व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

 उहाँले गाउँबाट सवारीसाधन भाडामा लिएर तरकारी बजारसम्म पु¥याउन जाने गरेको बताउनुभयो । अहिले काउली, धनिया, मुला, रायोलगायत तरकारी गाउँभरि प्रशस्तै छ । दुई बिघा खेतमा तरकारी खेती गरेर   दुई÷तीन युवालाई ज्यालादारीमा काम पनि लगाउनुभएका उहाँले कृषि सहकारीबाट मल नपाउँदा भने समस्या हुने गरेको बताउनुभयो । 


यसैगरी स्थानीय रामबहादुर चौधरीले पनि एक दशकयता तरकारी खेतीलाई निरन्तरता दिँदै आउनुभएको छ । अहिले १५ कट्ठा जमिनमा तरकारी खेती गरेको छु । उहाँले भन्नुभयो, विदेशको चर्को गर्मीमा साहुको हप्की खाएर मजदुरी गर्नुभन्दा आफ्नै खेतबारीमा लाग्दा अति खुशी लागिरहेको छ। चौधरीले बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न युवा पिँढीलाई गाउँमै तरकारी खेती, पशुपालनलगायतका आयमूलक काममा लगाउने खालका कार्यक्रम सरकारले ल्याउनुपर्ने बताउनुभयो । युवाशक्ति दिनहँु सजो मजदुरीका लागि विदेश पलायन हुँदैछन तर युवालाई राज्यले सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो ।

तरकारी खपतका लागि स्थानीय बजार पनि धाउने गर्नुभएका  चौधरीले यही व्यवसायले परिवारको खर्च चलेको बताउनुभयो । तरकारीबाटै कमाएर १३ कठ्ठा जमिन पनि गाउँमा किनेको छु । उहाँले भन्नुभयो, यहाँ आयमूलक काम गरेर समूहमा बचत गर्नेदेखि आत्मनिर्भर हुनेको सङ्ख्या बढिरहेको छ । चौधरीले बेलौरी नगरपालिकाबाट बोरिङ, पानी तान्ने मोटर, पावर टेलरलगायत कृषि औजार अनुदानमा पाउनुभएको छ । 

अर्का स्थानीय जग्गुलाल चौधरीले पनि तरकारी खेतीबाटै परिवारको  जिविका रामैसँग चलेको छ भन्नुभयो । पन्ध्र कट्ठा जमिनमा तरकारी खेती गर्न थालेको आठ वर्ष भयो ।उहाँले भन्नुभयो,गाउँमा विभिन्न आयमूलक काममा लाग्नेको सङ्ख्या बढिरहेको छ ।   
सोही वडाका वडाध्यक्ष नेत्र गिरीले दातृ निकाय र स्थानीय तहको सहयोगले समुदायका विपन्न परिवार स्वरोजगार बनेको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ र नगरपालिकाको सहयोगले यहाँका धेरै विपन्न समुदायका नागरिक अहिले आत्मनिर्भर बनेका छन् । उहाँले भन्नुभयो, व्यवसाय, स्वास्थ्य, शिक्षा र सचेतनाका क्षेत्रमा उहाँहरुको ठूलो लगानी छ । कञ्चनपुरमा पछिल्लो समय थारु समुदायका नागरिक व्यावसायिक तरकारी खेतीमा आबद्ध हुने क्रम बढिरहेको वढाध्यक्ष गिरीको भनाइ थियो ।

उहाँले आफ्नो वडामा आरक्ष विस्थापित, विपन्न, दलित समुदायका नागरिकको जीवनस्तर माथि उकास्न विभिन्न निकायबाट सहयोग भइरहेको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कृषि एवं वातावरण संयोजक राजकुमार सुनारले लालझाँडी र बेलौरी नगरपालिकामा तरकारी खेतीमा स्थानीयवासीलाई आबद्ध गराउन यो संस्था सक्रिय रहेको बताउनुभयो ।हामीले किसानलाई बीउबिजन र प्राविधिक सहयोग दिँदै आएका छौँ । उहाँले भन्नुभयो, विपन्न र निम्न आयस्रोत भएका परिवारलाई लक्षित आयूमलक काममा लाग्न प्रेरित गर्न हामी लागिपरेका छौ ।