१ जेठ, २०८१ मंगलबार

01:13:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५१ हजार पर्यटकले घुमे निकुञ्ज

Nepal Business

१२ पुस, २०७८

१ करोड ३० लाखको हाराहारीमा राजश्व संकलन

 ५१ हजार पर्यटकले घुमे निकुञ्ज

 

 

काठमाण्डौं, पुस १२

चालू आर्थिक वर्षको पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मंसिर मसान्तसम्म ५१ हजार ३ सय ४ जनाले निकुञ्जको भ्रमण गरेका छन् । 

 कात्तिकमा सबैभन्दा कढि २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका गरेका छन् । त्यसैगरी मंसिरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जनाले निकुञ्जको भ्रमण गरेका छन् । 

 पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म १ करोड २९ लाख ९५ हजार १ सय ५० राजस्व सङ्कलन गरेको छ ।पाँच महिना मध्ये मंसिरमा निकुञ्जले सबैभन्दा बढी ५४ लाख १२ राजस्व सङ्कलन भएको तिवारीले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार कात्तिकमा  ५१ लाख १४ हजार ८ सय ५०, असोजमा  १५ लाख दुई हजार ७००, भदौमा ६ लाख ११ हजार २ सय ५०, साउनमा ३ लाख ५४ हजार ३५० राजस्व सङ्कलन भएको छ । 

निकुञ्जले यहाँ घुम्न आउने पर्यटकबाहेक अन्य गतिविधिबाट समेत राजस्व सङ्कलन गर्दै आएको छ । निकुञ्जले चालू आव २०७८÷७९ मा विभिन्न शीर्षकमा २ करोड ४१ लाख १५ हजार ८ सय १८ राजस्व सङ्कलन गरेको तिवारीले बताउनुभयो । वन पैदावार बिक्री वितरणबाट  १९ लाख ४२ हजार १ सय ३३, पर्यटक, जीप सफारी र नदीजन्य पैदावारबाट १ करोड ९० लाख १४ हजार ५ सय ५०, दण्ड जरिवानाबाट २० लाख ४७ हजार ६ सय १० तथा नेचर गाइड र माछा मार्ने अनुमति शीर्षकमा ११ लाख ११ हजार ५ सय २५ राजस्व सङ्कलन भएको छ । 

विसं २०७२ को भूकम्पका कारण घटेका निकुञ्ज घुम्ने पर्यटक विस्तारै बढ्ने क्रममा थियो । दुई वर्ष अघिदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको हो ।