२२ माघ, २०८१ मंगलबार
11:37:27 AM
१२ पुस, २०७८
मुलुुकको अर्थतन्त्र जोखिममा, समाधानको परियोजना खोई ?
काठमाण्डौं, पुस १२
नेपालमा पछिल्ला दिनहरुमा आयात अत्यधिक रुपले बढिरहेको छ । दिनानु दिन बढिरहेको आयातले मुलुकको अर्थतन्त्रलाई थप जोखिमतिर धकेल्दै लगिरहेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ८ खर्ब ३८ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगभग ६० प्रतिशतले अधिक हो।
नेपालको वस्तु निर्यातको सामर्थ्य आयातको तुलनामा साँघुरो बनेको छ। मंसिरसम्म नेपालले १ खर्ब २ अर्ब ९२ करोडको वस्तु निर्यात गरेको छ।
निर्यात कमजोर हुँदा चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालले वैदेशिक व्यापारमा ७ खर्ब ३५ अर्ब ४८ करोड घाटा बेहोरेको छ। यो गतवर्षको सोही अवधिको तुलनामा ५४.७ प्रतिशत धेरै हो।
मंसिरसम्म नेपालले विदेशबाट १ खर्ब ८६ अर्ब ४७ करोड मूल्य बराबरको कृषिजन्य वस्तु आयात गरेको छ। यो कुल आयातको २२.२४ प्रतिशत हो।
मुलुकले करीब ३३ अर्ब ९४ करोडको अन्न, १० अर्ब ८४ करोडको फलफूल, १९ अर्ब ५७ करोडको तरकारी, ६९ अर्ब ८४ करोडको घ्यूतेल लगायतका वस्तु आयात गरेको छ ।