७ मंसिर, २०८१ शुक्रबार
12:31:55 PM
११ पुस, २०७८
५ महिनामा १६ करोडको सागमात्र आयात
काठमाण्डौं, पुस ११
चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । यसलाई आधारमान्दा नेपालले दैनिक करिब ६ करोडको तरकारी आयात गरेको देखिन्छ । आयातमा आलुको अंश सबैभन्दा ठूलो रहेको छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको ५ महिनाको वैदेशिक व्यापारको विवरण अनुसार नेपालले आलु खरिदमा ५ अर्ब २७ करोड, प्याज खरिदमा २ अर्ब ४७ करोड, गोलभेंडा खरिदमा १८ करोड ६६ लाख, हरियो लसुन खरिदमा ३७ करोड ४२ लाख, च्याउ खरिदमा ७ करोड १७ लाख, फर्सी खरिदमा १ करोड ४ लाख, गाँजर खरिदमा ४२ लाख, भिण्डे खुसाँनी खरिदमा ४ करोड, हरियो सागपात खरिदमा १६ करोड, हरियो तरकारीका गेडागुडी खरिदमा ३ करोड ३७ लाख आयातमा खर्च गरिरहेको तथ्याङकले देखाउँछ ।
नेपालले प्रतिमहिना औसत १ अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको छ । नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादनको छ ।
भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन ।
चालु आवको ५ महिनामा ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट र १० करोड मूल्य बराबरको आलु बंगलादेशबाट खरिद गरेको छ । पाकिस्तानबाट ८२ हजारको हरियो लसुन र दक्षिण कोरियाबाट रातो बन्दा नेपाल आयात गरिएको छ ।