८ मंसिर, २०८१ शनिबार
12:27:58 AM
१३ बैशाख, २०७९
एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी
काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना घोषणापत्रबाट कांग्रेसले बुँदाहरु चोरेको आरोप लगाउनुभएको छ ।
मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा उहाँले कांग्रेसको घोषणापत्रमा संविधाननको केहि विषय राखिएको र बाँकी बुँदाहरु एमालेको घोषणापत्रबाट चोरिएको आरोप लगाउनुभएको हो ।
उहाँले एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी गर्नुभएको हो ।
उहाँले कांग्रेसको घोषणापत्र जनताले नपढ्ने भन्दै कांग्रेस चिन्नका लागि पनि एमाले कार्यकर्ताहरुले उसको घोषणापत्र पढ्नुपर्ने जिकिर गर्नुभयो ।
उहाँले कांग्रेसले राजनीतिक पार्टीको चरित्र नै गुमाउन लागेको तर्क गर्नुभयो । कांग्रेसको घोषणापत्र गाली पुराण भएको पनि उहाँले टिप्पणी गर्नुभएको छ ।
यस्तै ओलीले माओवादीले घोषणपत्र निकाल्नै नसकेको र नेकपा एकीकृत समाजवादीको घोषणापत्र झुटको पुलिन्दा भएको बताउनुभयो ।
उहाँले टिकट वितरणमा देखिएका विषयलाई लिएर संयमता नगुमाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
एमालेमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उहाँले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको स्मरण पनि गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा जोड दिनुभयो ।