२१ बैशाख, २०८१ शुक्रबार

12:43:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वार्षिक बजेटको नजिक व्यापार घाटा, भारतसँग मात्र ७ खर्ब ७३ अर्ब घाटा

११ बैशाख, २०७९

साउनदेखि चैतसम्ममा कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको वस्तु आयात भएको छ ।

वार्षिक बजेटको नजिक व्यापार घाटा, भारतसँग मात्र  ७ खर्ब ७३ अर्ब  घाटा

काठमाण्डौं । चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनासम्म आइपुग्दा १३ खर्बभन्दा माथि व्यापार घाटा पुगेको छ । साउनदेखि चैतसम्मको आयातको प्रवृत्ति तथा निर्यातको अवस्था हेर्दा चालू आर्थिक वर्षमा बजेटभन्दा पनि व्यापार घाटा बढी हुने देखिएको छ । 

भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट नेपाललाई प्राप्त भएको रकमबीच १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख अन्तर रहेको छ । साउनदेखि चैतसम्ममा कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ६० अर्ब ५७ करोडको मात्र निर्यात भएको छ । 

चैत मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको छ । कुल व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा ९.८७ प्रतिशतमात्र छ ।

जसका कारण व्यापार घाटा १३ खर्ब भन्दा माथि पुगेको हो । बाँकी तीन महिनामा चालू आवको लागि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधयेकमार्फत ल्याएको १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेटभन्दा व्यापार घाटा बढी हुने तथ्यांकको प्रबृत्तिले देखाउँछ ।

यसैगरी विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा त्यसपछिका तीन महिनामा राष्ट्र बैंकले गरेको कडाइका कारण उच्च आयातको दर केही सुस्ताउन थालेको छ ।

भन्सार विभागका अनुसार चैत मसान्तसम्म कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको आयात भएको छ । जुन गत आवको चैतसम्मको तथ्यांकभन्दा ३१.९७ प्रतिशत धेरै हो । किनकि गत आवको नौ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोडको वस्तु आयात भएको थियो ।

यसैगरी, चैतसम्ममा १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात भएको छ । चैत महिनामा मात्र १३ अर्बको वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । चैत मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको छ ।

कुल व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा ९.८७ प्रतिशतमात्र छ । निर्यातमा पनि सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयातमा २ खर्ब बाहिरिएको छ ।

विभागका अनुसार नेपालको वैदेशिक व्यापारमा भारतसँग मात्र ९ महिनामा ७ खर्ब ७३ अर्ब व्यापार घाटा छ । भारतबाट नेपालले ९ खर्ब १ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ भने भारततर्फ १ खर्ब २७ अर्बको निर्यात भएको छ । यस्तै, मास्क तथा स्यानिटाइजर आयातमा एक अर्ब २२ करोड बढी बाहिरिएको छ ।