६ जेठ, २०८१ आइतबार

03:42:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ऐतिहासिक रानीपोखरी पुननिर्माण सम्पन्न, कामपालाई हस्तान्तरण

Nepal Business

८ पुस, २०७८

ऐतिहासिक रानीपोखरी पुननिर्माण सम्पन्न, कामपालाई हस्तान्तरण

काठमाडौँ, ८ पुस । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुनःनिर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी आज कामपालाई हस्तान्तरण गरेको हो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । 

स्वामित्व हस्तान्तरण कार्यक्रमपछि प्रमुख शाक्यले रानीपोखरी पुनःनिर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको बताउनुभयो ।  

पुनःनिर्मित ऐतिहासिक सम्पदा कामपाको स्वामित्वमा आएको भए पनि यो कामपाको मात्रै सम्पत्ति नभई राष्ट्रको सम्पत्तिको हो भन्दै महानगर उपप्रमुख हरिप्रभा खड्गीले यसको संरक्षण गर्नु सबैको साझा दाहित्व भएको बताउनुभयो ।  

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । 

रानीपोखरी पुनःनिर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेदेखि शुरु भएको थियो । प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले करिब ३६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनःनिर्माण गर्ने काम चुनौतिपूर्ण भए पनि पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।  

ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा कामपाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।  

पुनःनिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनःनिर्माणका लागि उपभोक्ता समितिमार्फत रु आठ करोड १५ लाख र पहिलो चरणअन्तरगत नै सौन्दय अभिवृद्धि, बालगोपालेश्वर मन्दिर निर्माण, पुनःनिर्माणलगायतका लागि रु १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिनुभयो । 

ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा कामपाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।  

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । 

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ विसं १७२५मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७), ईसं १६७० मा शिलापत्र राखिएको थियो । 

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रासस