७ मंसिर, २०८१ शुक्रबार
06:50:27 PM
७ बैशाख, २०७९
बैठकमा ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयर बाँडफाँटमा सहमति जुटाएको हो ।
काठमाण्डौ । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको बाँडफाँटमा सहमति जुटाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलको बैठकमा ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयर बाँडफाँटमा सहमति जुटाएको हो ।
सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ ।
त्यस्तै कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरको उपप्रमुख पाएको छ ।
माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ भने ललितपुर महानगर , धरान र धनगढी उपमहानगरको उपप्रमुख पाएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको छ भने काठमाडौं महानगर, इटहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपप्रमुख दिने सहमति भएको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको भने बिराटनगर तथा कलैया र नेपालगंजको उपप्रमुख पाएको कार्कीले बताउनुभयो ।
उहाले गठबन्धनको मापदण्ड र सहमतिका आधारमा सम्बन्धीत समितिहरुको बैठकबसि अविलम्व सिट बाँडफाँट तथा उम्मेद्वारहरुको चयन गर्न निर्देश गरेको बताउनुभयो ।
त्यस्तै सहमति बन्न नसकेको अवस्थामा गठबन्धनभित्रै मित्रवत प्रतिष्पर्धा गर्न सकिने समझदारी बनेको कार्कीले जानकारी दिनुभयो ।
गठबन्धनको सहमति पत्रमा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।