१ जेठ, २०८१ मंगलबार

07:29:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

होटल संघ र ट्रेड युनियनबीच ५ बुँदे सम्झौता, बन्दाबन्दीमा भएका सम्झौता कार्यान्वयमा जोड

Nepal Business

६ बैशाख, २०७९

होटल संघ र ट्रेड युनियनबीच  ५ बुँदे सम्झौता, बन्दाबन्दीमा भएका सम्झौता कार्यान्वयमा जोड

काठमाण्डौं । होटल संघ नेपाल र तीन वटा ट्रेड युनियनबीच बन्दाबन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गरिनु पर्ने सम्झौता भएको छ । 

मंगलबार  संघका अध्यक्ष सुजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनसँग सम्झौता भएको हो । 

यस्तै  पर्यटन उद्योगको श्रम सम्बन्धलाई सौहार्दता प्रदान गर्दै होटल व्यवसाय सञ्चालनलाई निरन्तरता प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ) सँग  सम्झौता भएको हो । 

सम्झौता अनुसार होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरुबीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिने छ ।

यदि भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा कावुवाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठकमार्फ आपसी सहमतिमा त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिने पनि सम्झौतामा उल्लेख छ । 

कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापनबीचमा हुने आपसी सम्झौता बमोजिम हुने संघले जनाएको छ ।