२२ बैशाख, २०८१ शनिबार

11:23:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पत्रकार नारायण ढुङ्गानालाई ‘ललितकला पत्रकारिता पुरस्कार

Nepal Business

२९ चैत, २०७८

ढुंगानाले विविध विधामा रहेर विगत १५ वर्ष चितवनबाट पत्रकारिता गर्नुभएको थियो ।

पत्रकार नारायण ढुङ्गानालाई ‘ललितकला पत्रकारिता पुरस्कार

काठमाण्डौ ।  यसवर्षको ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार’ चितवनका युवा पत्रकार राससकर्मी नारायण ढुङ्गानालाई प्रदान गरिएको छ ।

ललितपुरको पुल्चोकमा आयोजित एक समारोहमा पत्रकारितामार्फत ललितकलाको विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा उहाँलाई रु ११ हजार १११ रुपैयाँ पुरस्कार राशीसहित उक्त सम्मान प्रदान गरिएको हो ।

पत्रकार ढुंगानाले विविध विधामा रहेर विगत १५ वर्ष चितवनबाट पत्रकारिता गर्नुभएको थियो । विसं २०७५ सालपछि उहाँ राजधानीमा रहेर पत्रकारिता गरिरहनुभएको छ ।

राष्ट्रिय समाचार समिति राससका उपसमाचारदाता पत्रकार ढुंगाना हाल ललितकलाका साथै अपराधलगायत विधामा पत्रकारिता गरिरहनुभएको छ ।

नेपाल ललितकला पत्रकार समाज सोफाज नेपालले हरेक वर्ष स्वर्गीय सिंहको स्मृतिमा उक्त पुरस्कार प्रदान गर्दै आए पनि गतवर्ष भने कोभिडका कारण कार्यक्रम स्थगित भएको थियो ।

सिंहले विसं २०१६ पछि गोरखापत्रमा आवद्ध भएर नेपाली कला क्षेत्रको विकासमा योगदान गर्नुभएको थियो । उहाँ मधुपर्कको पनि सम्पादक पनि बन्नुभएको थियो ।

यस्तै मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई ‘सोफाज–ललितकला पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । सोफाजले ‘लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार’ भने कान्तिपुरका पत्रकार शुसिला तामाङलाई प्रदान गरेको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले उहाँहरुलाई कदरपत्रसहित सम्मान प्रदान गर्दै कला कलाका लागि नभई जीवनका लागि हुनुपर्नेमा जोड दिनुभयो ।

प्राडा थापाले विश्वमा चिकित्सक, इन्जिनियरले देशलाई चिनाउन नसक्ने तर कला सिर्जनाले चिनाउने हुँदा यसको छुट्टै पहिचान रहेकाले इन्जिनियरिङ क्षेत्रमा कला संयोजन गर्ने प्रयास आफुले थालेको बताउनुभयो ।

सोफाजले विसं २०७२ सालबाट प्रोत्साहनस्वरुप यसरी पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।