७ जेठ, २०८१ सोमबार

07:59:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालका पुल र पुल निर्माणबारे जानकारी समेटिएको पुस्तक

२५ चैत, २०७८

पुस्तकले नेपालका पुलहरूका लागि पाइल फाउन्डेशनसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको छ

काठमाडौँ,
नेपाल सरकारका पूर्वसचिव तनुकलाल यादवले लेख्नुभएको ‘पाइल फाउन्डेशन फर ब्रिज’ नामक पुस्तक शुक्रबार सार्वजनिक भएको छ । 

पुस्तक सार्वजनिकीकरण समारोहमा भौतिक पूर्वाधार मन्त्रालयलका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपालमा तालिमलगायत पूर्वाधार अभावका कारण भौतिक संरचना अपेक्षित बलियो नभएको बताउनुभयो । 

पुस्तकले नेपालका पुलहरूका लागि पाइल फाउन्डेशनसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको छ । पुस्तक सार्वजनिकीकरण समारोहमा भौतिक पूर्वाधार मन्त्रालयलका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपालमा तालिमलगायत पूर्वाधार अभावका कारण भौतिक संरचना अपेक्षित बलियो नभएको बताउनुभयो । 

उहाँले नेपालमा यस्तो पुस्तकको अभाव रहेको भन्दै पुस्तकले मार्ग निर्देशन दिने तथा समस्याको समाधान निकाल्न महत्वपूर्ण हुने बताउनुभयो । 

उहाँले नेपालमा निर्माण व्यवसायी र इन्जिनियर सबै आफ्नो क्षेत्रमा जिम्मेवार र इमान्दार बन्नुपर्ने उल्लेख गर्नुभयो ।

पुस्तकका लेखक यादवले पुस्तकमा नेपालमा प्रयोग गरिएका विभिन्न प्रकारका पुल फाउन्डेशनहरूका साथै वर्किङ लोड विधि प्रयोग गरी भू–प्राविधिक पाइल डिजाइन र सीमा राज्य विधि प्रयोग गरी संरचनात्मक डिजाइनको जानकारी समावेश गरिएको जानकारी दिनुभयो ।

पुस्तक अखण्डता र प्रतिरोध क्षमता निर्धारण विधिहरू (स्थिर, उच्च तनाव, र कम तनाव गैर–विनाशकारी गतिशील परीक्षण विधिहरू) र सफ्ट–वेयरमा नयाँ विकासहरूको सन्दर्भका साथ अद्यावधिक गरिएको छ । 

पुस्तकमा चरणबद्ध डिजाइन प्रविधि, निर्माण र गुणस्तर सुनिश्चितता, पुल निर्माण ठेक्का विधि र निर्माणको क्रममा आइपर्ने सामान्य समस्याका साथै तिनका कारण र उपायहरू पनि समावेश गरिएका छन् ।

पुस्तकमा अमेरिका, भारत र नेपालका घटना अध्ययन (केस स्टडी) गरी समग्र दृष्टिकोण प्रदान गरिएको लेखक यादवले बताउनुभयो ।

पुस्तकमा नेपालका जब्दीघाट, कमला पुल, थिमुराब्रिज र घट्टेखोला ब्रिजजस्ता पुल असफल भएका घटनाहरू विस्तृत रूपमा वर्णन गरिएको छ । यसबाहेक, सेल्फ–कम्प्याक्टिङ कङ्क्रिटको परिचय, डिजाइन–बिल्ड अनुबन्ध मोडेलको अध्ययन, संस्थागत वातावरणको वृद्धि र एएचपी मोडेल सबैलाई गहिराइमा समेटिएको छ ।

पुस्तक इन्जिनियरिङ विद्यार्थी, सरकारी एजेन्सी, पुल डिजाइनर, अभ्यास गर्ने इन्जिनियर र पुल निर्माणकर्ताहरूका लागि उत्कृष्ट पाठ र सन्दर्भहरु समेटिएको छ ।

पुस्तकमा दिइएको सुझावअनुसार विकासका संवाहकका रूपमा रहेका पुलजस्ता भौतिक पूर्वाधारको निर्माण मात्र आफैँमा पूर्ण विषय होइन । यस्ता भौतिक संरचनाहरूको टिकाउ र दिगोपनामा पनि निकै ध्यान दिनुपर्ने हुन्छ । 

केही समय यतादेखि देशका विभिन्न भागमा पुल निर्माण हुने क्रम तीव्र छ । साथै यी पुलहरू सम्पन्न नहुँदै वा निर्माणकै क्रममा लच्किने, भाँचिने गरेका खबरले सञ्चारमाध्यममा ठूलो ठाउँ पाएको छ । सरकारी आँकडानुसार यसवर्ष २०७८ सालमा निर्माण सम्पन्न भइसकेका वा निर्माणकै क्रममा रहेका आठ वटा पुलमा क्षति भइसकेको छ । 

यसैगरी नौवटा पुल निर्माणका क्रममा नदीको माथिल्लो भागमा आएको बाढीका कारण क्षति पुगेको छ । यी तथ्याङ्कहरूको विश्लेषणबाट नेपालमा निर्माण भइरहेको पुलको डिजाइन, निर्माण वा कच्चा सामग्रीको प्रयोगमा गरिने भ्रष्टाचार एवं लापरबाही नै पुलमा देखिने समस्याका प्रमुख कारक रहेको मान्न सकिन्छ । 

बारम्बारका यस्ता घटनाले पुलजस्ता भौतिक संरचना निर्माणमा कमसल कच्चा सामग्रीको प्रयोग तथा आधारभूत निर्माण मापदण्डको पालना हुन नसक्नु नै प्रमुख समस्या हुन् ।

यस्ता कमजोर संरचनाका कारण राष्ट्रिय सम्पत्तिको नोक्सान हुनुका साथै मानिसको ज्यानै जाने खतरा रहन्छ । त्यसैले सडक र पुलजस्ता राष्ट्रिय सम्पत्तिको निर्माणमा गम्भीर ध्यान जानुपर्छ ।

सो अवसरमा सहभागी वक्ताहरुले सरकारी निकायकै गम्भीर कमीकमजोरीका कारण पुलजस्ता भौतिक संरचना निर्माणमा करोडौँको लागतमा ठेक्का लाग्ने भए पनि विभिन्न पक्षको मिलेमतोका कारण संरचना निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको बताउनुभयो ।