७ जेठ, २०८१ सोमबार

07:38:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ऊर्जालाई आन्तरिक खपतमा जोड दिनुपर्नेः राष्ट्रपति

Nepal Business

१९ चैत, २०७८

राष्ट्रपति भण्डारीले जलस्रोतको बहुउद्देश्यीय प्रयोग हर्दै हरित अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

ऊर्जालाई आन्तरिक खपतमा जोड दिनुपर्नेः राष्ट्रपति

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको शनिबार उद्घाटन गर्नुभएको छ । 

जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस, छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको हो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएकामा राष्ट्रपतिले खुसी व्यक्त गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गर्नुभयो । राष्ट्रपतिले जनसहभागितामा जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेकामा प्रसन्नता व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अझै पनि देशका विभिन्न स्थानका नागरिकले बिजुली बाल्न नपाएको तथ्य पेस गर्दै उहाँले हरेक घर र भान्छामा बिजुली पुग्ने वातावरण बनाउन सबैको सार्थक पहल आवश्यक रहेकामा जोड दिनुभयो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँको मात्रा घट्दै जानु चिन्ताजनक विषय भएको तथ्य पेस गर्दै राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन तथा हरियाली प्रवद्र्धनमा जोड दिन सबैको ध्यानकर्षण गराउनुभयो ।

राष्ट्रपति भण्डारीले जलस्रोतको बहुउद्देश्यीय प्रयोग हर्दै हरित अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । एकै पटक ठूलो लगानी लाग्ने र उत्पादनको अवधिसम्म प्रतिफल प्राप्त हुन गाह्रो हुने भएकाले साना तथा मझौला आयोजनामा निजी क्षेत्रले हात हालेको तथा त्यसमा उल्लेखनीय सफलता हासिल गरेकोमा राष्ट्रपतिले ऊर्जा उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि नयाँ अवसरको खोजी, प्रविधिको प्रयोग तथा लगानी आकर्षित गर्ने लक्ष्यका साथ एक्सपोको आयोजना गरिएको जानकारी दिनुभयो ।

एक्स्पोको उद्घाटन पूर्वबृहद् विद्युतीय सवारी र्याली पनि आयोजना गरिएको थियो । देशकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषय वस्तुमा तीनै दिन विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञका बीचमा छलफल गर्ने कार्यक्रम तय भएको सो अवसरमा जानकारी दिइयो ।