२१ माघ, २०८१ सोमबार

01:41:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६३ लाखसहित तीन युवक पक्राउ, खुलेन यसको स्रोत

Nepal Business

१७ चैत, २०७८

 ६३ लाखसहित तीन युवक पक्राउ, खुलेन यसको स्रोत

महोत्तरी । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको  ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार  ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने  बिहीबार  ८ लाखसहित थप एक युवक पक्राउ परे । यसको स्रोत खोज्दा उनीहरुले स्रोत दिन नसकेको विष्टले जानकारी दिनुभयो । 

रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।

जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए ।

ज ९प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा  ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।

यसैगरी भारतबाट स्रोत नखुलेको करिब ८ लाखसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो । 

भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी  साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको ७ लाख ९१ हजार बरामद गरेको थियो । 

पक्राउ परेका  दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा  लगिएकामा कार्यालय बन्द भएकाले बुधबार बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।