१० मंसिर, २०८१ सोमबार

06:06:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच सम्झौता हुने, के के छन सम्झौताका विषयहरु ?

१७ चैत, २०७८

दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

 प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच सम्झौता हुने,  के के छन सम्झौताका विषयहरु ?

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणमा शुक्रबार जाँदै हुनुहुन्छ ।  

भ्रमणका बेला उहाँ भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनुहुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटन सम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षर लगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटन भएपछि  भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो । यसैगरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । 

डिजीटल भुक्तानी प्लेटफर्म सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमोटबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जी सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भैरहेको  छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुनेछ । 

प्रधानमन्त्री देउवा चैत २० गते भारतको उत्तर प्रदेशस्थित वारणासीहुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।