२३ बैशाख, २०८१ आइतबार

02:32:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा

Nepal Business

३ पुस, २०७८

घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा

पोखरा, ३ पुस। मनाङ मस्र्याङदी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणको खेलमा आज आफ्नो ‘होम ग्राउण्ड’ पोखरा रङ्गशालामा  नेपाल पुलिस क्लबमाथि ३–१ गोल अन्तरको जित निकाल्दै मनाङ लिग तालिकाको शीर्ष स्थानमा पुग्न सफल भयो ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका फरवार्ड अञ्जन विष्टको दुई गोलको मद्दतमा मनाङले पुलिसलाई पोखरा रङ्गशालामा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले समान एकरएक गोल गरेपनि दोस्रो हाफमा भने मनाङले दुई गोल थप्दै महत्वपूर्ण तीन अङ्क जोड्न सफल भयो । 

खेलको १० औँ मिनेटमा विष्टले गोल गर्दै मनाङको अग्रता बनाउनुभयो । उहाँले रक्षक दिनेश राजवंशीको लामो पासमा विपक्षी टोलीका गोलकिपर रोशन खड्का पेनाल्टी एरियाबाट बाहिर आएको मौकामा गोल गर्नुभयो । खेलको ३५औँ मिनेटमा पुलिस क्लबले गोल गर्दै खेल बराबरीमा ल्यायो । मनाङका रक्षक सरोज योञ्जन लामाले डिबक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईलाई फाउल गरेपछि पुलिसले पेनाल्टी पायो । पेनाल्टीमा पुलिसका सुमना लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काउनुभयो । 

मनाङले दोस्रो हाफमा अञ्जन विष्टको प्रि–किक गोलमार्फत खेलमा पुनः अग्रता बनायो । ७३औँ मिनेटमा अञ्जनले विपक्षी टोलीका खेलाडीले बल हातले छोएपछि पाएको किकमा सुन्दर गोल गर्नुभएको थियो । मनाङका निशान लिम्बुले ८३ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । लिम्बुले ओलावालेको पासलाई उपयोग गरी गोल गर्नुभएको थियो । 

मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ बनाएपछि पुलिस क्लब लिगको पाँचौँ चरणको खेल खेल्न पोखरा आएको थियो । खेलमा दुबै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । पुलिसँगको खेलमा जित हात पारेपछि मनाङ १३ अङ्क सहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अङ्कसहित मच्छिन्द्र फुटबल क्लब दोस्रो तथा  त्रिभुवन आर्मी र सङ्कटा क्लब समान नौ अङ्क सहित क्रमश स् तेस्रो र चौथो स्थानमा छन् । 

मनाङले आगामी पुस ११ गते ब्रिगेड ब्वाईज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग पोखरा रङ्गशालामा खेल्ने तालिका छ । खेलपछिको पत्रकार सम्मेलनमा मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले घरेलु मैदानमा पहिलो खेल कठिन भएको बताउनुभयो । खेलको दोस्रो हाफमा रणनीति परिर्वतन गरेपछि जित सम्भव भएको उहाँले प्रतिक्रिया दिनुभयो । पुलिसका प्रशिक्षक अनन्तराज थापा भने सम्मेलनमा अनुपस्थित रहनुभयो । रासस