१ मंसिर, २०८१ शनिबार

12:30:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशी लगानी भित्र्याउन र लगानी गर्न गैरआवासीय नेपालीलाई नेता र व्यवसायीको आग्रह

Nepal Business

१३ चैत, २०७८

वक्ताले विश्वभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप, पुँजी र प्राविधिक ज्ञानलाई नेपालको विकासका निम्ति लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

 विदेशी लगानी भित्र्याउन र लगानी गर्न गैरआवासीय नेपालीलाई नेता र व्यवसायीको आग्रह

काठमाडौँ,

विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीले नेपालमा लगानीको उचित वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।  

नेपालमा लगानीको वातावरण बन्यो जलविद्युत्, पूर्वाधार, पर्यटन, जडीबुटीआदि क्षेत्रमा लगानी गर्न र विदेशी लगानी भित्र्याउन सकिन्छ 

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ विश्वसम्मेलन तथा महाधिवेशनको समापनका अवसरमा आइतबार वक्ताले विश्वभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप, पुँजी र प्राविधिक ज्ञानलाई नेपालको विकासका निम्ति लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विदेशमा रहेका नेपालीले स्वदेशमा लगानी भित्र्याउने उपयुक्त वातावरण बनेको भन्दै त्यस प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न सरकार तथा राजनीतिक दल तत्पर रहेको धारणा राख्नुभयो ।

कांग्रेसकै महामन्त्री गगनकुमार थापाले नेपाललाई समुनत बनाउन गैर आवासीय नेपालीको महत्वपूर्ण भूमिका रहेको भन्दै थोरैभन्दा थोरै लगानीमैत्री वातावरण बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

संविधानसभाका पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले नेपालमा जस्तो सुकै असहज र कठिन अवस्था आइपर्दा नेपालका राजनीतिक दल एक ठाउँमा उभिएर सुजबुझपूर्ण निर्णय गर्दै आएको स्मरण गराउँदै अहिले पनि असहमतिका विषयलाई एकै थलोबाट समाधान खोज्ने वातावरण रहेको उल्लेख  गर्नुभयो । 

उहाँले संविधानले सुनिश्चितता गरेको गैर आवासीय नेपालीको नागरिकतासम्बन्धी विषयलाई छिट्टै कानून बनाएर सम्बोधन गर्न पनि राजनीतिक दल एकमतका साथ लाग्ने विश्वास दिलाउनुभयो ।

 नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ पूर्वाधार, शिक्षा, आधुनिक प्रविधिको नयाँ क्षेत्रको व्यवसायमा लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गर्नुभयो । 

गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र अर्का अध्यक्ष जिवा लामिछानेले मातृभूमिको समृद्धिका निम्ति सङ्घ सदैव प्रतिबद्ध रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण सिर्जना भएको भन्दै जलविद्युत्, पूर्वाधार, पर्यटन, जडीबुटी आदि क्षेत्रमा लगानी गर्न र विदेशी लगानी भित्र्याउन पनि गैर आवासीय नेपालीलाई आह्वान गर्नुभयो ।