१ जेठ, २०८१ मंगलबार

04:55:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नाट्टाको निर्वाचनमा थापा समुहको उम्मेदवारी घोषणा, महामारीपछिको पर्यटन पुनरुत्थान गर्ने योजना

Nepal Business

१३ चैत, २०७८

चैत १७ गते हुन लागेको ५५औँ वार्षिक साधारणसभा एवम् २३ औँ निर्वाचन हुँदैछ

नाट्टाको निर्वाचनमा थापा समुहको उम्मेदवारी घोषणा, महामारीपछिको पर्यटन पुनरुत्थान गर्ने योजना

काठमाडौँ,

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा समूहले उम्मेदवारी घोषणा गरेको छ । 

नाट्टाका वर्तमान उपाध्यक्षसमेत रहनुभएका थापाले आइतबार पत्रकार सम्मेलन गरी चैत १७ गते हुन लागेको ५५औँ वार्षिक साधारणसभा एवम् २३ औँ निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले पर्यटन प्याकेज बिक्री गर्दा लाग्ने भ्याट छुट गर्ने, दक्षिण एसियालाई हवाई कनेक्टिभिटी बढाउन पहल गर्ने, पेड होलिडेजको शीघ्र कार्यान्वयनका लागि पहल गर्ने आफ्नो योजना रहेको सुनाउनुभयो ।

नाट्टा कार्यसमितिको सदस्य, सचिव र महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नुभएका उपाध्यक्ष थापाले कोभिड महामारीपछिको पर्यटकीय पुनरुत्थान, समग्र व्यावसायिक समस्याको पहिचान, सम्बोधन र समाधानका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा थापाले कोभिड महामारीका कारण सिर्जित यात्रा प्रतिबन्ध अझै खुकुलो बनाउँदै पर्यटन क्षेत्रलाई पुरानो लयमा फर्काउन आफूले विशेष पहल गर्ने बताउनुभयो । 

उहाँले पर्यटन प्याकेज बिक्री गर्दा लाग्ने भ्याट छुट गर्ने, दक्षिण एसियालाई हवाई कनेक्टिभिटी बढाउन पहल गर्ने, पेड होलिडेजको शीघ्र कार्यान्वयनका लागि पहल गर्ने आफ्नो योजना रहेको सुनाउनुभयो ।

अध्यक्षका उम्मेदवार थापाले पर्यटक सवारी साधनसम्बन्धी विद्यमान विभेदकारी यातायात ऐन संशोधनका लागि पहल गर्ने, पर्यटकीय पूर्वाधार विकासका लागि सरकारको लगानी बढाउने, कोभिड महामारी प्रभावित सदस्य कम्पनीलाई राहतस्वरुप आगामी पाँच वर्षसम्म कर छुटका लागि पहल गर्ने र पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगका रूपमा मान्यता दिलाउन सरकारसँग पहल गर्ने बताउनुभयो ।

राजधानीलगायत मुख्य पर्यटकीय क्षेत्रमा पर्यटक बस टर्मिनल निर्माणका लागि पहल गर्ने, नाट्टाले सुरु गरेको बुद्धिष्ट इन्टरनेशनल ट्राभल्स मार्टलाई निरन्तरता दिने, सातवटै नाट्टा प्रदेशसँग समन्वय गर्दै प्रत्येक प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्याकेजिङ प्रवद्र्धन गर्ने उहाँले बताउनुभयो ।

सदस्य कम्पनीलाई प्रविधिमैत्री बनाउन आवश्यक तालिम सञ्चालन गर्ने, टुरिष्ट गाइड दक्षता अभिवृद्धि गर्न सम्बन्धित संस्थासँग सहकार्य गरेर तालिम प्रदान गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने अध्यक्षका उम्मेदवार थापाले बताउनुभयो ।

थापा समूहको वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्यले उम्मेदवारी दिनुभएको छ । 

यस्तै, सदस्यमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, रामशोभित नायक, डेन्डी शेर्पा, महेश कोइराला ९दीपक०, श्रद्धा जोशी र सबला भण्डारीले उम्मेदवारी दिनुभएको छ ।