७ मंसिर, २०८१ शुक्रबार
08:25:59 AM
३ चैत, २०७८
काठमाण्डौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दावी गर्नुभएको छ ।
होलीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको समर्थन शक्ति चुनावको मैदानमा देखिने बताउनुभएको हो ।
उहाँले आगामी निर्वाचनमा फैसाला गर्ने अधिकार जनतालाई दिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरु पराजित हुने बताउनुभयो । उहाँले भन्नुभयो , ‘वैशाख ३० गते हुने चुनावले जनतालाई फैसला गर्ने अधिकार दिइरहेको छ । जसले प्रगतिशिल भूमिका खेलेको छ त्यसको उच्च मूल्यांकन हुनुपर्दछ । जसले प्रतिगामी भूमिका खेलेको छ त्यसले दण्डित हुनुपर्दछ । प्रतिगामी भूमिका खेल्नेहरु, आन्दोलनको विकासमा बाधक हुनेहरु पुरुस्कृत हुने हो भने हाम्रो समाज बाच्ने लायक हुँदैन ।’
यस्तै उहाँले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने समेत स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले समाजवादको बाटोमा अघि बढ्न चाहेको भन्दै यसलाई अवरोध गर्न दक्षिणपन्थी बिचलन देखा परेको बताउनुभयो ।
उहाँले जिम्मेवार भएर समाज रुपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।