७ मंसिर, २०८१ शुक्रबार
08:00:26 AM
१ चैत, २०७८
काठमाण्डौं
गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना मुलुकको हितमा रहेको भन्दै यसबाट फाइदा लिनसक्नुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले मंगलबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा एमसीसीका बारेमा अनावश्यक चर्चा चलेको भन्दै एमसीसी परियोजना मुलुकको हितमा रहेको र यसबाट फाइदा लिनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अर्को देशले लगानी गरेको छ । जहाँ २.५ किलोमिटरलाई तपाईलाई २१ अर्ब पर्यो । फेरी सम्झौता गर्दा के छ भने जुन देशको बैंकले लगानी गरेको त्यहि देशकाले मात्र ठेक्का लिन पाउने छ ।त्यस्तो लगानीका बारेमा कुनै टिकाटिप्पणी हुँदैन । अनि एमसीसी यो त जनताले अमेरिकन सरकारलाई दिएको ट्याक्सबाट यहाँ प्रवाह गरेको अनुदान हो । यो अनुदानको खर्च गरेस कि गरेनस, किन गरेनस समयभित्रै काम सिध्या भन्नु पनि अन्याय हो र । यहाँ जसले विरोध गरेको छ त्स पनि ठेक्का पाउन सक्छ ।’
उहाँले एमसीसीका कारण उपभोक्तालाई पर्न सक्ने असरका बारेमा सरकार सचेत रहेको धारणा पनि राख्नुभयो । विद्युत र उर्जाको उत्पादन बढे व्यापारको सन्तुलन बढ्न सक्ने सरकारको विश्वास रहेको उहाँको भनाई छ ।
त्यस्तै गृहमन्त्री खाँणले स्थानीय उत्पादनको प्रयोगलाई बढवा दिन नागरिक सचेतना बढाउनुपर्ने र यसमा उपभोक्ता अधिकारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । संविधान, ऐन कानुनमा भएका उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ मंगलबार विश्व उपभोक्ता अधिकार दिवस मनाइएको हो ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको छ ।