३ जेठ, २०८१ बिहिबार

08:17:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घ्याम्पेडाँडाको घ्याम्पो उद्घाटन, पर्यटन प्रवद्र्धन हुने विश्वास

Nepal Business

२७ फागुन, २०७८

घ्याम्पेडाँडाको घ्याम्पो उद्घाटन, पर्यटन प्रवद्र्धन हुने विश्वास

भक्तपुर,

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पर्यटकीय स्थान घ्याम्पेडाँडामा निर्माण भएको पाँच हजार लिटर पानी अट्ने पर्यटकीय घ्याम्पो उद्घाटन गरिएको छ । 

ठाउँको नाम घ्याम्पेडाँडा भए पनि घ्याम्पो नुहँदा यसबारेमा आन्तरिक पर्यटकले चासो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको शुक्रबार नेकपा एमालेका पोलिब्यूरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो ।

ठाउँको नाम घ्याम्पेडाँडा भए पनि घ्याम्पो नुहँदा यसबारेमा आन्तरिक पर्यटकले चासो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको शुक्रबार नेकपा एमालेका पोलिब्यूरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो ।

उहाँले भक्तपुरको विकासमा यो पाँचवर्षे स्वर्णयुगका रूपमा रहेको चर्चा गर्दै विकट रहेको यो क्षेत्र अहिले विकासले कायापलट भएको बताउनुभयो । भक्तपुरमा मात्रै आफ्नो पहलमा १५ अर्बभन्दा बढी बजेट ल्याएर यहाँको विकासबाट मुहार फेरेको भन्दै उहाँले घ्याम्पेडाँडा, रानीकोट क्षेत्र मुख्य पर्यटकको आकर्षण बनेको बताउनुभयो । 

कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने गरी नगरपालिकाले शिव सर्किट निर्माण गरेको उल्लेख गर्नुभयो । यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक सडक, पूर्वाधारको विकासमा लागेको बताउनुभयो । 

नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायक नगरपालिकाको धार्मिक, पर्यटकीय विकास मात्रै नभई सडक, खानेपानी, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रको विकास गर्न सफल भएको बताउनुभयो । 

परापूर्वकालदेखि यस क्षेत्र घ्याम्पेडाँडाको नामबाट परिचित भएकाले यहाँकोे पहिचानलाई झल्काउन र यहाँको महत्वपूर्ण पर्यटकीय क्षेत्रमा अझै पर्यटकीय आकर्षण बढाउन घ्याम्पो निर्माण गरिएको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । 

सूर्यविनायक–७ र ८ को सिमानामा रहेको घ्याम्पेडाँडामा नगरपालिकाको रु २० लाखको बजेट वडा नं ७ मार्फत विनियोजित गरी त्यसमा पाँच लाखको उपभोक्तामार्फत थप गरी कूल रु २५ लाखको लागतमा घ्याम्पो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले हेर्दा निकै आकर्षक देखिने घ्याम्पो तलैदेखि फलामको डण्डी हालेर सिमेन्टबाट पक्की रूपमा २२ फिटको उचाइमा निर्माण गरिएको बताउँदै यसको वरिपरि र तलैदेखि सिँढी निर्माण गरेर बनाएको जानकारी दिनुभयो । 

वडा नं ८ का वडाध्यक्ष किरण थापाले पाँच वर्ष अगाडिसम्म विकट रहेको यस क्षेत्र जनप्रतिनिधि आएपछि सङ्घीय, प्रदेश र नगरपालिकाको बजेटले यहाँको मुहार फेरिएको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष सबिन तामाङले करिब १७ रोपनी जमीन सार्वजनिक जग्गा रहेको यस क्षेत्रकोे संरक्षणमा पनि स्थानीयवासी लाग्ने बताउनुभयो । 

धेरै पहिला यस क्षेत्र स्थानीय ब्राह्मण समुदायको कुस बिर्ताका नामबाट चर्चामा रहँदै पुरानो छाप नाम रहेको यस ठाउँलाई २०२१ सालको नापीपछि चिहान डाँडाको नामबाट चिन्न थालिएको थियो । विसं २०३५ पछि भने यो डाँडाको नाम घ्याम्पेडाँडा रहन गएको स्थानीयवासी बताउँछन् । 

धेरै वर्षपहिला स्थानीय बटुवा, गोठालाहरुले गाईवस्तुलाई पानी खुवाउनका लागि जमीनमुनि घ्याम्पो गाडेर राखिएको र उक्त पानी आवश्यताअनुसार प्रयोग गर्ने गरिएको थियो । जमीनमुनि घ्याम्पोमा पानी राख्दा जाडोमा पानी तातो हुने र गर्मीमा चिसो हुने भएकाले पनि घ्याम्पोमा पानी राखी प्रयोगमा ल्याइएको जनविश्वास रहिआएको छ ।