७ मंसिर, २०८१ शुक्रबार

06:56:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेकपा माओवादी केन्द्रको बैठक बस्दै, पदाधिकारी चयन देखी एमसीसी सम्मका एजेण्डा

२० फागुन, २०७८

नेकपा माओवादी केन्द्रको बैठक बस्दै, पदाधिकारी चयन देखी एमसीसी सम्मका एजेण्डा

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादीको भूमिकाबाट छलफल सुरु हुने एक नेताले जानकरी दिएका छन् । 

गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो । माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

केन्द्रीय कमिटी बैठकले अरू पदाधिकारीको टुंगो लगाउने नेताहरू बताउँछन् । एक पूर्वस्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले पदाधिकारी टुंग्याउने गृहकार्य गरेको भए मात्रै अहिले पदाधिकारी चयन हुने बताउँछन् । “सकेसम्म सहमतिमा नै पदाधिकारी चयन गर्ने भन्नेमा जोडबल रहन्छ । अध्यक्ष कमरेडले गृहकार्य गरेर ल्याए पदाधिकारीको टुंग्गो लाग्छ ।

एमसीसीले पार्टीमा ल्याएको विवादले प्रभावित पार्न पनि सक्छ,” ती नेताले भने । अर्का एक नेता भने स्थानीय तहको निर्वाचन आइसकेकाले पदाधिकारी गठन गर्नैपर्ने बाध्यता रहेको बताउँछन् ।

“स्थानीय चुनाव आइसकेको छ । अब पनि पदाधिकारी चयन भएन भने पार्टीको हालत कस्तो हुन्छ, पार्टीलाई अघि बढाउन त गठन हुन्छ भन्ने लाग्छ,” ती नेताको भनाइ छ ।

माओवादी केन्द्रमा स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्न बाँकी छ । बैठकले स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्ने जनाइएको छ । स्थायी कमिटीमा पूर्वस्थायी कमिटीका सदस्यहरू नै दोहोरिने सम्भावना छ ।