७ मंसिर, २०८१ शुक्रबार

07:19:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्दै सत्तारुढ गठबन्धन (भिडियोसहित)

१९ फागुन, २०७८

संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्दै सत्तारुढ गठबन्धन (भिडियोसहित)

काठमाण्डौं

सत्तारुढ गठबन्धनले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तागठबन्धन आवद्ध चार दलको बैठकले संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएकाले एमालेसँग छलफल गर्ने निर्णय गरेको सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, ‘संसद यति लामो समयसम्म सञ्चालन नहुँदा जनतामा संसदप्रति नकरात्मक धारणा बन्न सक्छ । र लामो समयदेखि संसद सञ्चालन नहुँदा नागरिक विद्येयक, हवाई उड्डयन जस्ता विद्येयक आउन सकेको छैन । अहिले हाम्रा जहाजहरु युरोपका आकाशमा उडन सक्ने अवस्था छैन । यस्ता धेरै विद्येयकहरु छन् ।’

यस्तै बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको उहाँले बताउनुभयो । ‘विकसित राजनीतिक परिस्थितिका बारेमा सरकारको के भूमिका रहने, गठबन्धन दलहरुको के भूमिका रहने र कसरी हामी अगाडी बढ्ने यसै विषयमा छलफल केन्द्रित रह्यो’, उहाँले भन्नुभयो । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सहयोग गरेकोमा नेताहरूलाई धन्यवाद समेत दिनुभएको कार्कीले बताउनुभयो । 

यस्तै उहाँले मुलुकमा राजनीतिक स्थायित्व दिनका लागि गठबन्धनको आवश्यकता रहेको बताउनुभयो । ‘जुन कारणले हामीले गठबन्धनको निर्माण गरेका छौँ’, उहाँले भन्नुभयो, ‘गठबन्धनको आवश्यकता मुलुकको राजनीतिक स्थायित्व, मुलुकलाई सुशासन दिनका निमित्त, मुलुकमा कानूनी शासनको प्रत्याभूति दिनका निमित खास गरेर मूलुकलाई एकताबद्ध बनाएर विकास र समृद्धिमा अगाडी बढाउनका निमित गठबन्धनको आवश्यकता महशुस गरेर यो गठबन्धन बनेको र अगाडी बढ्छ ।’

उक्त बैठकमा राष्ट्रिय जनमोर्चा बाहेकका सत्तारुढ दलको सहभागीता रहेको थियो ।