१५ बैशाख, २०८१ शनिबार

09:43:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई करोडको लागतमा सांस्कृतिक सङ्ग्रहालय

१९ फागुन, २०७८

दुई वर्षभित्रमा सङ्ग्रहालयलाई पूर्णस्वरुपमा सञ्चालनमा ल्याइनेछ । अक्षयकोषले गत साउनदेखि नै सङ्ग्रहालय निर्माणका लागि पूर्वाधार तयारी र लोकवाद्य यन्त्र सङ्कलनको काम थालेको थियो ।

दुई करोडको लागतमा सांस्कृतिक सङ्ग्रहालय

बाग्लुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण सुरु गरिएको छ । एक हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनको बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गर्नुभयो ।

गाउँमैत्री अक्षयकोषले निर्माण गर्न लागेको सङ्ग्रहालय भवनमा रु दुई करोड बढीको लागत अनुमान छ । चालु आवमा गण्डकी प्रदेश सरकारले दिएको रु ५० लाख बजेटबाट तला ढलानसम्म गरिने भएको छ । “भवनको भित्री संरचना र साजसज्जाको काम आउँदो वर्ष गर्ने लक्ष्य छ”, अक्षयकोषका अध्यक्ष हेमराज आश्रमले भन्नुभयो ।

उहाँका अनुसार सबै पूर्वाधार खडा गरेपछि दुई वर्षभित्रमा सङ्ग्रहालयलाई पूर्णस्वरुपमा सञ्चालनमा ल्याइनेछ । अक्षयकोषले गत साउनदेखि नै सङ्ग्रहालय निर्माणका लागि पूर्वाधार तयारी र लोकवाद्य यन्त्र सङ्कलनको काम थालेको थियो । अक्षयकोषका नाममा यसअघि रहेको जग्गामा थप साढे दुई रोपनी जग्गा जोडेपछि भवन निर्माण अघि बढेको हो । 

सङ्ग्रहालयमा विश्वभरका देशको प्रतिनिधित्व हुने गरी लोकबाजा सङ्ग्रह गर्ने महत्वकांक्षी लक्ष्य अक्षयकोषले लिएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ किसिमका लोकबाजा सङ्कलन गरिएको छ । अक्षयकोषले सांस्कृतिक सङ्ग्रहालयको योजना ल्याएपछि गत आवमा पनि प्रदेश सरकारले रु दश लाख बजेट उपलब्ध गराएको थियो । उक्त बजेटमध्ये रु पाँच लाख नगरा ९दमाहा० र बाँकी अक्षयकोषको कार्यालय भवन बनाउँदा खर्च भएको थियो ।  

दुई सय ८० किलोको उक्त नगरालाई अक्षयकोषले ‘देशकै ठूलो’ भनेर दाबी गर्दै आएको छ । अबदेखि सालैपिच्छे नयाँ वर्षका दिन त्यो नगरा बजाइने भएको छ । निर्माणाधीन सङ्ग्रहालय परिसरमा नेपाली लोकबाजा मादलको प्रतिमा पनि राखिएको छ । भवनले पूर्णता पाएपछि सङ्कलित लोकबाजालाई व्यवस्थितरुपमा सङ्ग्रह गरिनेछ । 

सङ्ग्रहालयले नेपाली कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा टेवा थप्ने वाङ्मयसेवी एवं काठेखोलाका कार्यपालिका सदस्य टीका सङ्गम विकले बताउनुभयो । “सङ्ग्रहालयले जिल्लामा पर्यटकीय आकर्षण पनि बढाउँछ”, उहाँले भन्नुभयो, “साथै यो साझा सांस्कृतिक सम्पत्तिका रुपमा रहनेछ ।”

सङ्ग्रहालय निर्माणका लागि अहिले आर्थिक अभियान पनि सञ्चालन भइरहेको छ । देश विदेशबाट स्वतःस्फूर्तरुपमा सहयोग आउने क्रम सुरु भएको अक्षयकोषले जनाएको छ यसअघि आर्थिक स्रोतको जोहो नहुँदा सङ्ग्रहालय बनाउने योजना अन्योलमा परेको थियो । प्रदेश सरकारबाट बजेटको सुनिश्चितता भएपछि काम अघि बढेको हो । विसं २०६६ मा स्थापित अक्षयकोष कला, सङ्गीत र साहित्यको उत्थानमा क्रियाशील छ ।