२० बैशाख, २०८१ बिहिबार

09:37:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धार्मिक विविधतासंगै एकताको सन्देश फैलाऔं : प्रधानमन्त्री देउवा

Nepal Business

१७ फागुन, २०७८

नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताउनुभएको छ ।

धार्मिक विविधतासंगै एकताको सन्देश फैलाऔं : प्रधानमन्त्री देउवा

काठमाडौँ । 
प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले हरेक जातजातिका आ–आफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको उल्लेख गर्नुभएको छ । नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

राष्ट्रिय एकता र संस्कृतिको पर्व महाशिवरात्रीले नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुग्नुका साथै राष्ट्रिय एकताको आधारस्तम्भको रूपमा स्थापित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।