२१ माघ, २०८१ सोमबार
10:41:16 PM
१६ फागुन, २०७८
पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध
काठमाडौं
शिवरात्रि नजिकीएसँगै ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ । पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि फागुन १७ गते मंगलबार शिवरात्रिको दिन ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन रोक लगाएको हो । ट्राफिक प्रहरीले पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ ।
त्यस्तै, धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । साथै, चावहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश गर्न नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।
सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीको लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले ५० लाख दर्शनार्थीले मंगलबार पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले यी क्षेत्रमा सवारीसाधन चलाउन रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।