२२ माघ, २०८१ मंगलबार
01:38:27 AM
१५ फागुन, २०७८
तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराउनुभएको थियो
दाङ,
पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ।
खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ । यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन्
सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराउनुभएको थियो । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालयसम्म पु¥याउन सकिएको अवस्था छैन ।
विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर यसमा पानी आउदैन । धारामा कमिला हिँडिरहेका हुन्छन् । शौचालयमा पानी हुँदैन । शौच गर्न खोलाबाट पानी बोक्नु पर्छ । खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ । यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन् । विडम्बना त के छ भने विद्यार्थीले त्यही खोलाको पानी प्रयोग गर्छन् ।
गाउँका मान्छेले पनि खोलामा बगिरहेको त्यही पानी प्रयोग गर्ने गरेका छन् । धेरै माथिको मुहानबाट बगेर आएको पानी नै विद्यार्थीले पिउनुपर्ने बाध्यता छ । “हामीले बिभिन्न ठाउँमा पानीको उचित व्यवस्थापनका लागि भनेर पहल ग¥यौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विकले भन्नुभयो, “तर अहिलेसम्म कुनै पनि निकायबाट सहयोग भएको छैन ।”
खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ । यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन्
विद्यार्थी खोलाको दूषित पानी पिउन बाध्य रहेको जनाउँदै यसमा समयमै ध्यान दिनुपर्ने विद्यालयका प्रधानाध्यापक मीनबहादुर केसीले बताउनुभयो ।
दूषित पानी खाँदा विद्यार्थीलाई असर गर्न सक्ने जनाउँदै यसमा सचेत हुुनुपर्ने उहाँको भनाइ थियो । विद्यालयमा खानेपानीको समस्या देखिएपछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अवलोकन गर्नुभएको छ । उहाँले सो अवसरमा प्रदेशको प्रतिस्थापन बजेटबाट रु आठ लाख बजेटबाट भवन निर्माणको काम सुरु भएको र खानेपानीको समस्या समाधान समेत गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयमा पर्खालको पनि उत्तिकै समस्या छ । विद्यालय खुला छ । यसले गर्दा पटक–पटक विद्यालयको झ्यालढोका तोडफोड हुने गरेको प्रअ केसीको भनाइ छ ।
शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छ शिक्षक कार्यरत छन् । दुई स्थायी, एक राहत, एक बाल विकासमा कार्यरत र अन्य दुई विद्यालयले व्यहोर्ने गरी शिक्षक र कर्मचारी राखिएको छ । रासस